नेपालगन्ज- नेपालगन्जमा केही समय पहिला सम्पन्न भएको प्रादेशिक कृषि तथा पर्यटन महोत्सव २०८१ को आर्थिक हिसाबकिताब अझै सार्वजनिक नभएको भन्दै व्यापारीहरू लगायत सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्।
महोत्सव सम्पन्न भएको महिनौँ बितिसक्दा पनि आयोजक पक्षबाट आम्दानी–खर्चको विवरण सार्वजनिक नगरिनु आपत्तिजनक भएको व्यापारीहरूको भनाइ छ। नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजित उक्त महोत्सवमा थुप्रै व्यवसायी, कृषक तथा स्थानिय उद्योगीहरूले सहभागिता जनाएका थिए।

“हामीले स्टल राख्न लाखौँ रुपैयाँ खर्च गरेका छौं, तर कार्यक्रमको पारदर्शिता नहुनु शंकास्पद हो,” एक व्यवसायीले नाम नखुलाउने शर्तमा बताए। उनले थपे, “जनताको करमा चलेको यस्तो महोत्सवको सार्वजनिक लेखाजोखा हुनैपर्छ।”
व्यापारीहरूले आर्थिक विवरण स्पष्ट रुपमा सार्वजनिक गर्न माग गर्दै संघ तथा विभिन्न व्यक्तिहरुले आवाज उठाइ रहेका छन् । केही व्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुकमा समेत हिसाबकिताब प्रष्ट पार्नुपर्नेमा जोड दिइरहेका छन् ।
यता आयोजक पक्षले भने हाल लेखापरिक्षण प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै नै हिसाबकिताब सार्वजनिक गरिने जानकारी दिएको छ। तथापि, विवरण कहिले सार्वजनिक हुन्छ भन्ने स्पष्ट मिति भने बताइएको छैन।
आन्तरिक छानबिन समिति बनेको भनिए पनि यस विषयमा नेपालगन्ज नगरवासी तथा सरोकारवाला निकायहरूले समेत चासो राख्न थालेका छन्। पारदर्शिता र जवाफदेहिता लोकतान्त्रिक अभ्यासका मूल आधार हुन् भन्नेमा सबै पक्ष एकमत देखिन्छ।