हरित अभियन्ता काफ्ले लुम्बिनी प्रदेशको वातावरण विज्ञमा नियुक्त

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले वातावरण तथा दिगो विकास क्षेत्रलाई प्राथमिकतामा राख्दै वातावरण विज्ञको रूपमा हरित अभियन्ता हेमन्त राज काफ्लेलाई नियुक्त गरेको छ। विज्ञ काफ्ले वातावरण संरक्षण, जलवायु परिवर्तन तथा हरित विकासका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आइरहनु भएको छ ।

काफ्लेले विगत दुई दशकभन्दा बढी समयदेखि वातावरणीय अध्ययन, नीति निर्माण, र जनचेतना अभिवृद्धिमा योगदान दिँदै आएका छन्। उनी वातावरणीय सुरक्षा र जैविक विविधताको संरक्षणका पक्षमा विभिन्न राष्ट्रिय कार्यक्रम मार्फत आबद्ध रहँदै आएका छन्।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रीले काफ्लेको नियुक्तिलाई वातावरणीय सुधारतर्फको सकारात्मक कदमका रूपमा व्याख्या गर्दै भने, “हाम्रो प्रदेश जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ। यसको संरक्षण र समुचित व्यवस्थापनमा अब वातावरण विज्ञ काफ्लेज्यूको भूमिका महत्वपूर्ण रहने विश्वास गरिएको छ।”

नवनियुक्त विज्ञ काफ्लेले आफ्नो प्राथमिकता प्रदेशको वातावरण नीति प्रभावकारी बनाउने, हरित क्षेत्र विस्तार गर्ने, र जलवायु अनुकूलन कार्यक्रमलाई सुदृढ बनाउने रहेको नागरिक पथलाई बताउनुभयो ।

प्रदेश सरकारको यो कदमले वातावरणीय संरक्षण तथा दिगो विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको  छ। हरित अभियन्ता काफ्ले लाई मोरिङ्गा बाबा भनेर पनि चिन्ने गरिन्छ । उहाँले कसैको जन्मदिन वा शुभ कार्यमा मोरिङ्गाको विरुवा उपहार दिने गर्नुहुन्छ । उहाँले राष्ट्रपति देखि विशिष्ट व्यक्तिहरु, पुर्व राजा लगायतका व्यक्तिहरुलाई समेत सितल चिनीको बिरुवा उपहार दिइसकेको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *