कोहलपुर : मानिसले पुण्य कमाउन मठ मन्दिर धाउछन् तीर्थ यात्रा गर्छन् तर बाँकेको कोहलपुरमा एक परिवारले आफ्नो श्रीमतीको मृत्यु भएपछि नीजको शब चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीहरुका लागि अध्ययनमा सहजता ल्याउनका लागि शव नेपालगन्ज मेडिकल कलेजलाई हस्तान्तरण गरेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ निवासी अोम प्रकाश सापकोटा केसीको धर्मपत्नी सावित्री सापकोटा केसीको शब आज नेपालगन्ज मेडिकल कलेज बेसिक साइन्स चिसापानीलाई नीजका परिवारले हस्तान्तरण गरेका छन् ।
नीज मृतक सापकोटाले वि.स. २०७८ सालमा मृत्युपछि आफ्नो शरीर चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुका सिकाइका लागि दिने इच्छा प्रकट गरि सोही बेलामा सहमति गरिएको थियो । आमाको पार्थिक शरीर उहाँको इच्छा अनुसार मेडिकल कलेजलाई दान गरिएको नीजको छोरा दिपक सापकोटा केसीले बताए । आमाको काठमाडौंमा उपचारका क्रममा सिभिल हस्पिटलमा मृत्यु भएको थियोे हामीले मेडिकल कलेजलाई जानकारी दियौं काठमाडौंबाट कोहलपुरमा शब ल्याइ मंगलबार शब दान दिएको उनले नागरिक पथलाई बताए ।

नीज सापकोटा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा सहिद स्मृति केन्द्र नेपालका संस्थापक अध्यक्ष ओम प्रकाश सापकोटा केसीको धर्मपत्नी तथा सहिद परिवारकी सदस्य हुनुहुन्थ्यो ।
नीजको शरीरलाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले कोहलपुरमा पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरि शबलाई बेसिक साइन्स चिसापानीमा लगेर मेडिकल कलेज चिसापानीका इन्चार्ज प्रो. डा. राजेन्द्र राज वाग्लेलाई नेकपा माओवादी केन्द्रका नेताहरु नरेन्द्र न्यौपाने , बल बहादुर खड्का लगायतकाको रोहवरमा हस्तान्तरण गरिएको छोरा दिपक सापकोटा केसीले बताए । बेसिक साइन्स चिसापानीमा एनाटोमी बिभागमा कार्यरत डा. अनिल गुप्ताले यस्ता किसिमको मानवीय सोच भएका मान्छेहरु बिरलै पाइने बताउदै मृत शरीरलाई गाड्ने वा जलाउने भन्दा यसरी कलेजलाई दिदा सयौं विद्यार्थीहरुले सिकाइ गर्न सक्ने र उहाँको पनि चौतर्फी परिचर्चा हुने बताए ।
