गुल्मी : गुल्मीको मदाने गाउँपालिका वडा नं ७ नेटाखर्क निवासी ३३ वर्षीय ऋषि घर्तीको असोज २४ गते अचानक मृत्यु भएपछि अरुको घरमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारले सहयोगी दाताहरुलाई अर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
आफ्ना वृद्ध बुबा श्रीमती, तीन छोरीलाई पालनपोषण गर्दै आएका ऋषिको अचानक मृत्यु भएपछि उनकी ४५ दिनकी सुत्केरी श्रीमती बसन्ता घर्तीले ती छोरीहरुलाई कसरी शिक्षा दीक्षा दिने र लालनपालन गर्ने भनेर चिन्तित रहेकी छिन् ।

मलाई सुत्केरीको भन्दा पनि अबका दिनहरुमा वृद्ध ससुरा र ती सानासाना नानी बाबुलाई कसरी हुर्काउने भन्ने चिन्ता रहेको उनले बताइन् । उनको घरको आर्थिक स्थिति कमजोर भएको भन्दै स्थानीय वडा नं ७ का वडा अध्यक्ष सन्तोष केसी र मदाने गाउँपालिका ६ का समाजसेवी तथा लोक गायक सुनिल थापालफे सहयोग उठाउन सुरु गरेका छन् ।
मदाने गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुवरले पिडित घर्तीको घरमै पुगेर रु २५ हजार सहयोग गरेको लोक गायक थापाले बताए । उनका अनुसार देश विदेशबाट सहयोग आउने क्रम जारी छ उनीहरुको परिवारलाई पुग्ने केही रकम जम्मा भएपछि सहयोग माग्न बन्द गरिने र सहयोगी दाताको नाम र रकम सार्वजनिक गरिने उनले बताए ।
६ महिना अगाडि सासू आमालाई गुमाएकी बसन्ताले श्रीमान पनि गुमाउदा अचेत अवस्थामा रहेको थापाले बताए । थापाका अनुसार सोही वडा निवासी हाल काठमाण्डौंमा बस्ने बुद्ध एयरलाइन्सका प्रवन्धक समेत रहेका बाबुराम पन्थीले जेठी छोरीको उच्च शिक्षा सम्म पढाउने वाचा गरेको बताए । नीज बालिकाले श्री धाराचौर आधारभूत नि.मा.वि. मा कक्षा ६ मा अध्ययनरत रहेको उक्त विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद घिमिरेले बताए । नीज बसन्ताका ११ वर्ष, ७ वर्ष र ४५ दिनको ३ छोरीहरु रहेका छन् ।
नीजलाई सहयोग गर्न चाहानु हुने मनकारीहरुले -सुनिल थापा मदाने गा. पा ६ र मदाने गा. पा. ७ का वडा अध्यक्ष सन्तोस के सीलाई सम्पर्क गर्न सकिने बताइएको छ ।
