प्रिय मनसुन पुन: आउने वाचामा
बिदाई गरेको हो तिमीलाई
खै आएनौ त,
तड्पाईको जिन्दगी बेअर्थको हुन्छ
प्रखाईको जिन्दगी अनन्तको हुन्छ
छट्पटीको जिन्दगीलाई सहज बनाउन
अब त आइदेउन मनसुन ।
ताप र रापमा पिल्सिएर बाँच्दा
लाग्छ मुटुको धड्कन रोकिए झै
अनि सम्झन्छु तिम्रो शितल अन्कमाल
आनन्दित पवनको स्पर्श
देख्छु निलो आकाशको बिशाल छातीमा
आस सगै त्रासको कलाकृति
त्यसै भित्र गराएर मायाको वर्षा
उत्साहले काउकुति लगाउन
अब त आईदेउन मौसम ।
तिम्रो प्रतिक्षामा कटेका पल
लामो भयो उदासीन रातहरू
मन भित्र आसाहरूको पखेटा पलाउनु अघि
निराशाका भाला रोपिदा
छोपिनु पर्ने ह्रुदयको आकाश
मरुभूमि जस्तै लम्पसार हुँदा
शुष्कतामै ढलेको वदन भिजाएर
मदहोश बनाउन अब त आईदेउ मनसुन ।
सधैं सहनुको विकल्प नछोडे पनि
आफ्नो रौद्र रुप धारण गरेर
ताण्डप नृत्य देखाउदै
पहाड उजाडेर मैदान बगाउन
अब त छिट्टै आईदेउन मौसम ।
यहाँ रमाउँला श्रमको आँगनमा
लगाएर विश्वासको आलि
भरेर जिन्दगीका गरा
काडेर खुशीका ब्याड
रोपिदिउला सुन्दर भविष्य
फलाउला सन्तुष्टि
भरौँला आसाको भकारी
त्यसैले त अन्तरआत्माको चिच्याहट सुनेर
रहरहरूलाई खडेरीले मार्नु अगावै
आईदेउन प्रिय मौसम ।
शान्ति अधिकारी
बाँके