खिम प्रसाद घिमिरे (के.पी. घिमिरे)
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार स्थानीय तहले प्रत्येक वर्ष योजना, कार्यक्रम छनोट र बजेट विनियोजन गरी स्वीकृत गरेपश्चात मात्र कार्यान्वयन गर्ने व्यवस्था गरेको छ । यस प्रक्रियालाई वार्षिक योजना तर्जुमा प्रक्रिया भनिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयनको पक्षमा जिल्लाको अन्य पालिकाहरु भन्दा केहि फरक रहेको छ । उपमहानगरपालिकाले वार्षिक विकास कार्यक्रमलाई योजनाको सोच, लक्ष्य र उद्देश्यसँग तादात्म्यता मिलाउन मध्यमकालीन खर्च संरचना तयार गर्नु पर्दछ । उपमहानगरपालिकाले वार्षिक योजना तर्जुमा गर्दा नेपालको संविधानमा व्यवस्था भएको नीति, मौलिक हक, निर्देशक सिद्धान्त, सम्बद्ध अनुसूची, स्थानीय तहको आवधिक योजना, प्रदेश तथा राष्ट्रिय योजनामा उल्लिखित उद्देश्य, रणनीति तथा प्राथमिकतालाई ध्यान दिनु पर्दछ । साथै स्थानीय आवश्यकता, सम्भावना, समस्या र चुनौती र नेपाल सरकारको नीति, कार्यक्रमलाई लाई प्राथमिकता दिनु पर्दछ ।
पालिकाले सहभागितामूलक प्रक्रिया अनुसार चरणबद्ध रूपमा वार्षिक योजना तर्जुमा गर्नुपर्दछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएको वार्षिक योजना तर्जुमासँग सम्बन्धित संस्थागत संयन्त्रमा स्थानीय राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, वडा समिति, विषयगत समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति पर्दछन् र उक्त संयन्त्रमा उल्लेख भएका काम, कर्तव्य र अधिकारलाई पालना गर्नु पर्दछ ।
उपमहानगरपालिकाले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटको पूर्वतयारी गर्नु पर्दछ । प्रत्येक वर्ष आगामी आर्थिक वर्षका लागि उपमहानगरपालिकाले वस्तुस्थिति विवरण तयार तथा अद्यावधिक गर्ने, विषयगत क्षेत्र छुट्याउने कार्य गर्नु पर्दछ । स्थानीय राजस्व परामर्श समितिले आन्तरिक राजस्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी आगामी आर्थिक वर्षका लागि प्राप्त हुन सक्ने आन्तरिक स्रोतको अनुमान गर्नु पर्दछ । उपमहानगरपालिकाले बार्षिक योजना तर्जुमा गर्दा स्रोत अनुमान तथा बजेट सीमा निर्धारणमा विशेष ध्यान दिनु पर्दछ । नेपाल सरकार तथा प्रदेश सरकारबाट बजेट सीमा तथा मार्गदर्शनलाई प्राथमिकताअनुसार परिचालन गर्नु पर्दछ ।हचुवाका भरमा योजना तर्जुमा गर्दा कार्यानवयनको पाटोमा जटिलता पैदा हुने हुँदा योजना तर्जुमा गर्दा बस्ती तहहरुमा योजना छनोट गर्नु पर्दछ । बजेट सीमा तथा मापडण्डका आधार मापालिका अन्तर्गत रहेका २३ वटै वडा समितिको बैठक बसीे टोल बस्तीमा गएर योजनाको सूची तयार पारी वडामा पेस गर्नु पर्दछ । यसरी गरीने योजना छनोटले जनस्तरमा राम्रो सूचना जाने र बजेट कार्यानवयनमा समेत सहजता हुने गर्दछ ।
वडास्तरमा योजना र कार्यक्रमलाई एकीकृत गरी विषयगत क्षेत्र अनुसार छुट्याई आयोजना र कार्यक्रमलाई प्राथमिकता निर्धारण गर्ने र वडास्तरको बजेट सीमाभित्र पर्ने योजनामा बजेट विनियोजन गर्ने । साथै वडाको बजेट सीमाले नपुग्ने योजनाको आवश्यकता तथा औचित्यसमेत खुलाई पालिकामा पेस गर्दा वडाको विकास हुने गर्दछ । उपमहानगरपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत शाखा तथा एकाइले प्राप्त बजेट सीमा तथा मार्गदर्शन अनुसार विषयगत आयोजना र कार्यक्रमको आवधिक योजना, आयोजना बैङ्क, चालु आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना र वडा समितिलगायत विभिन्न स्रोतबाट प्राप्त आयोजना तथा कार्यक्रमको सूची तयार गर्नु पर्दछ । यसो गर्दा योजनाहरु एकीकृत गरी वार्षिक योजनाको खाका तयारमा सहजता हुने गर्दछ ।
उपमहानगरपालिकाको योजना तर्जुमा गर्दा अर्को महत्वपूर्ण चरण कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृति हो । यस चरणमा बजेट वक्तव्य, आर्थिक एवं विनियोजन विधेयक तथा राजस्व, व्यय र वित्तीय व्यवस्थाको अनुमान र वार्षिक कार्यव्रmम कार्यपालिकाबाट स्वीकृत गर्ने बजेट तथा कार्यक्रम तर्जुमा समितिले तयार गरी पेस गरेको बजेट वक्तव्य, राजस्व, व्यय र वित्तीय व्यवस्था बजेट, मध्यमकालीन खर्च संरचना, वार्षिक विकास कार्यक्रम, आर्थिक तथा विनियोजन विधेयकसम्बन्धी दस्ताबेजसहितको एकीकृत वार्षिक बजेट तथा कार्यक्रमको प्रस्ताव प्रमुखले कार्यपालिकाको बैठकमा पेस हुने गर्दछ । कार्यपालिका बैठकमा बजेट वक्तव्य, राजस्व, व्यय तथा वित्तीय व्यवस्था बजेट, मध्यमकालीन खर्च संरचना, वार्षिक विकास कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधयेकलाई छुट्टाछुटटै रूपमा पेस तथा दफावार छलफल गरी स्वीकृत गर्नुपर्ने हुन्छ । यसरी स्वीकृत भएको बजेट तथा कार्यव्रmमका सभामा पेस गर्नु पर्दछ । र अन्तमा स्थानीय सभाबाट बजेट तथा कार्यक्रम स्वीकृतिका लागि बजेट वक्तव्य, आर्थिक विधेयक, विनियोजन विधेयक तथा बजेट अनुमान र कार्यपालिकाबाट स्वीकृत पश्चात वार्षिक बजेट तथा कार्यक्रम सभाले स्वीकृत गर्ने गर्दछ ।