कवीन्द्र राज भट्टराई
नेपालगन्ज
वर्दिया जिल्लाका छ वटा पालिकाहरू मध्ये बारवर्दिया नगरपालिका पनि एउटा हो । यसको पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा वर्दिया राष्ट्रिय निकुञ्ज तथा ठाकुरबाबा नगरपालिका र दक्षिणमा गुलरिया नगरपालिका रहेका छन् । साबिकका चारवटा गाबिसहरू धधवार, मगरागाडी, पदनाहा र बनियाभार मिलेर बनेको यो पालिकाको क्षेत्रफल २२६.०९ वर्ग किलोमिटर रहेको छ ।
लगभग सत्तरी हजार जनसंख्या रहेको यो पालिका कृषि र पर्यटनका लागि उपयुक्त रहेको छ । असोजको महिनामा देखिने पहेंलपुर फाँटहरूले गर्दा लाग्छ सुन फलिरहेको छ तथा हावा सँगै सुनका सिक्रि लहराईं रहेका छन् । त्यसैगरि यहाँ रहेका ताल तलैया देख्दा लाग्छ चाँदीका थुप्राहरू टल्किरहेका छन् ।
धेरै संभावना सहितको यो नगरपालिकामा युवक मा. वि. बनियाभार, अंशुवर्मा मा. वि. मगरागाडी, पाञ्चजन्य मा. वि. पदनाह, जनसेवा मा. वि. धधवार, धर्मभक्त मा. वि. कतर्निया र जनता मा. वि. मगरागाडी गरि छ वटा विद्यालयहरूले कक्षा ९-१२ को शिक्षा प्रदान गर्दै आएका छन् । बिगत लामो समयदेखि यी विद्यालयहरूले मध्यम स्तरका जनशक्ति उत्पादन गरिरहे पनि सरकारी लगानि र आवश्यक जनशक्तिको सही तवरले व्यवस्थापन हुन नसक्दा गुणस्तर वृध्दि गर्न सकिरहेका छैनन् ।
वर्दिया जिल्लाकै ठुलो मध्येको यो नगरपालिकाले विकासका विभिन्न प्रयास गरेको पाईन्छ । अहिले पनि यस पालिकाबाट धेरै विद्यार्थीहरू कक्षा ११ र १२ को शिक्षा हासिल गर्न पालिका बाहिरका विद्यालयहरूमा जान रूचाउनुले पनि पालिका भित्रको शैक्षिक गुणस्तरलाई प्रतिबिम्बित गर्दछ । धेरैजसो त जसो तसो रिण काढेर भए पनि बाँकेतिर त कोही काठमाण्डौ समेत पुगेका छन् । गुणस्तरिय शिक्षा पाउनु विद्यार्थीहरूको अधिकार हो । यसै कुरालाई हृदयगम् गरि पालिकाले नगर शिक्षकहरूको व्यवस्था गरि शैक्षिक गुणस्तर वृध्दि गर्ने प्रयास गरेको पाईन्छ । तर नगर शिक्षकहरूको पारिश्रमिक नेपाल सरकारले तोके भन्दा न्यून तोकिएकोले आफूहरू विभेदमा परेको गुनासो समेत रहेको छ । समानताको पाठ सिकाउनु पर्ने शिक्षकहरू नै विभेदमा परेका कारण उच्च मनोवलका साथ काम गर्ने वातावरण प्रदान गर्न पालिका चुकेको छ ।
गत वर्षदेखि चिकित्सा शिक्षामा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम ल्याएको पालिकाले यस वर्ष त झन ईन्जिनियरिंग र चार्टर एकाउन्टेन्टको लागि समेत छात्रवृत्तिको व्यवस्था गरेको छ । तर हालसम्म यो सुविधाबाट लाभान्वित हुन चाहीं कोही पनि विद्यार्थीले पाएका छैनन् । यसको मुल कारण सो शिक्षाको लागि आधारशिला तयार गर्न नसक्नु हो । चिकित्सा शिक्षा तथा ईन्जिनियरिंग विषय अध्ययन गर्नका लागि कक्षा ११ र १२ मा विज्ञान विषय पढ्नु पर्ने हुन्छ । तर बारवर्दिया भित्रका कुनै पनि विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय पढाई हुँदैन् । यतिमात्र हैन पालिकाले विज्ञान विषय संचालनका लागि कुनै ठोस कार्यक्रम ल्याएको छैन् । तर पनि यसपटक बाट अंशुवरर्मा मा. वि. ले यो प्रयास गरेको छ । यस पुनित कार्यको लागि विद्यालय परिवार बधाईको पात्र बनेको छ । यसरी आधार तयार गर्न नसक्नुले पालिकाको शैक्षिक विकासको कुरामा ढुंगा लागिरहेको छ ।
आँफ्नै घरआँगनमा बसेर घरकै रोटोपिठो खाएर कक्षा १२ सम्मको शिक्षा विद्यार्थीहरूले पढ्न पाउन भनेर शुरू गरेको कक्षा ११-१२ को शिक्षा आर्जन गर्नकै लागि पालिका बाहिर जान वाध्य वालवालिकाहरू लाई पालिका भित्रै गुणस्तरि शिक्षा प्रदान गर्नका लागि नमूना मा. वि. तयार गर्नु पर्नेमा पालिकाले अझै सो को आधार समेत तयार गर्न सकेको छैन् ।
यति हुँदा हुँदै पनि पालिकाको पहलमा बिष्णु-धनि प्राविधिक शिक्षालय संचालनमा ल्याउनु आँफैमा सर्ह्रानिय कार्य हो । प्राविधिक शिक्षालाई प्राथमिकता दिएको कुरा जन सेवा मा. वि. मा प्राविधिक धारको कक्षा ११- १२ संचालन गर्नुले पनि देखाउँछ । प्राविधिक शिक्षालाई महत्व दिएको पालिकाले विज्ञान शिक्षालाई ध्यान दिन नसक्नु बिडम्बनापूर्ण रहेको छ । विज्ञान र प्रविधि एक अर्काका परिपुरक हुन् । विज्ञान बोट हो भने प्रविधि त्यसमा फल्ने फल हो । जसले फलको आश गरेको हुन्छ उसले बोटलाई माया गर्नु तथा बोट लगाएर मलजल गर्नु पर्ने हुन्छ ।
जन सेवा मा. वि. ले प्राविधिक धारको कक्षा ११ र १२ संचालन गरिरहेको छ । त्यसमा केही थप विषय शिक्षकको व्यवस्था गरि सजिलै नमूना विद्यालय सहित विज्ञान विषयको कक्षा शुरू गर्न सकिन्छ । जसको लागि पालिकाले चाहनु पर्दछ । सत्कर्मका लागि दृढ ईच्छा शक्ति राख्ने हो भने बारवर्दिया देश कै विज्ञान प्रविधिको शिक्षाका लागि नमूना पालिका बन्न सक्छ ।

