नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको मानवशास्त्र विभागको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको ज्वाला फिल्डमा राजा खान नेपालगन्ज फुटबल प्रतियोगिता सुरु भएको छ ।
मंगलबार साँझ ५ बजेदेखि सुरु भएको फुटबल खेलमा विद्यार्थी कल्याणकारी कोषका प्रमुख किरण रेग्मीको अध्यक्षतामा भएको खेलको उद्घाटनमा प्रमुख अतिथिका रुपमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, विशिष्ट अतिथिमा वडा नं १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्य लगायतको उपस्थिति रहेको थियोे ।
मंगलबार भएको दुईवटा खेलमा महेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु र स्ववियुको टीममा स्नातकोत्तर तहका विद्यार्थीहरुले ४ गोल गरेर विजयी भएका थिए ।
त्यसैगरी महेन्द्र बहुमुखी क्याम्पसमा बि.बि.ए. मा अध्ययनरत विद्यार्थीहरुले सोही क्याम्पसमा आइ टीमा अध्यापन गर्ने शिक्षकहरुलाई १ का विरुद्ध ५ गोल गरेर विजयी भएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ निवासी राजा बाबु खानले आफू अमेरिकामा बसेरपनि खेलप्रति हौसला प्रदान गर्न मुख्य प्रायोजन गरेका छन् । उनले प्रथम, द्वितीय र तृतीय हुने टीमलई ट्रफी, प्रमाणपत्र उपलब्ध गराउने आयोजकका संयोजक गोकर्ण शाहीले बताए ।
आयोजकका अनुसार ७ वटा टीमले खेलमा भाग लिएको छ, सोमबारदेखि खेल सुरुगर्ने भनिएता पनि हावाहुरीले गर्दा मंगलबारदेखि सुरु गरिएको आयोजले बताएको छ । बुधबार पनि साँझ ५ बजेदेखि खेल सञ्चालन हुने बताइएको छ ।स्मरण रहोस् राजाबाबु खानले यसभन्दा अघि रात्री कालिन क्रिकेट गराउन सहयोग गरेका थिए । यश फुटबल खेलमा पनि डा. प्रकाश नाँग, सुरेन्द्र सिंह सरदार, केक एण्ड बेकरी, किडन्ली ड्रिकिङ्क वाटर लगायतको थोरै थोरै आर्थिक सहयोग रहेको आयोजकले बताएको छ ।
