पत्रकार सुद्धिकरण प्रक्रिया तत्काल सुरु गर्न पत्रकार महासंघ बाँकेलाई प्रेस सेन्टर नेपालको ज्ञापनपत्र

लुम्बिनी प्रदेश बिशेष

नेपाल पत्रकार महासंघ केन्द्रीयद कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरूलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई तत्काल सुरुगर्न माग गर्दै प्रेस सेन्टर नेपाल बाँके शाखाले नेपाल पत्रकार महासंघ बाँके शाखालाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीवार प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य सहितको टीमले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘नेपाल पत्रकार महासंघ केन्द्रले स्वेैच्छिक रुपमा सदस्यता परित्याग गर्ने, नवीकरणका क्रममा क्रियाशीलताको आधार खोज्ने लगायतको अभियानको कार्यतालिका सार्वजनिक गरेको अवस्थामा नेपाल पत्रकार महासंघ बाँके शाखाले हालसम्म कुनैपनि प्रक्रिया सुरु नगरेको प्रति प्रेस सेन्टर बाँके ले आपत्ति जनाएको छ ।

साथै अविलम्ब शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘केन्द्रले सुरु गरेको शुद्धिकरण अभियानदेखि आत्तिएका केही सङ्गठनहरूले केही सदस्य सङ्ख्याको बखेडा झिकेर महासंघ केन्द्रको मूल उद्देश्य र स्पिड भन्दा बाहिर जान गरिएको प्रयास र प्रचारप्रति आपत्ति जनाउदै केन्द्र र प्रदेशले सुरु गरेको अभियान अनुसार अगाडि बढ्न र नेपाल पत्रकार महासङ्घको विधान विधि अनुसार संस्थागत तरिकाले शाखाको काम कारवाहीलाई अगाडि बढाउन आग्रह गर्दछ ।

नेपाल पत्रकार महासंघ केन्द्रले सर्कुलर गरेको निर्णय अनुसार महासङ्घको गरिमा बढाउन गरेको अभियानमा हाम्रो साथ समर्थनका साथै यदि नेपाल पत्रकार महासंघ केन्द्रले जारी गरेको नामावली जिल्लाले सार्वजनिक गरेर शुद्धिकरण र नयाँ सदस्यताको प्रक्रिया अविलम्ब कार्यान्वयन नगरिए हाम्रो संगठन चरणवद्वरुपमा आन्दोलनमा उत्रिने चेतावनी गर्दछ ।’

ज्ञापन पत्र बुझ्दै पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले आफूले शुद्धिकरण अभियानलाई टुगोंमा पुर्‍याउन चाहेको भन्दै सबै संघ संगठन सँगको सहकार्यमा अगाडि बढ्न बताए । उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रेस सेन्टरका नेता कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *