अर्ध चेतमा राखेर ब्रेन ट्युमरको जटिल शल्यक्रिया गर्न नेपालगन्ज मेडिकल कलेज सफल


नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रमा रिफरल सेन्टरको रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा न्युरो सर्जरी सम्बन्धि जटिल  ब्रेन ट्युमरको अप्रेशन सफल भएको छ ।

पश्चिम नेपालमा पहिलोपटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ मा बस्ने रेखा कश्यपलाई हात खुट्टा चलाउन सक्ने, बोली र स्मरण शक्ति बचाउनका लागि उक्त प्रकारको शल्यक्रिया गरेको न्युरो सर्जन डा. मनिष कोलाक्षपतिले बताउनुभयो ।

त्यसैगरी बीरेन्द्रनगर १ सुर्खेत बस्ने दीपा गौतमलाई भने हातखुट्टाको मुमेन्ट र आँखाको दृष्टि जोगाउनका लागि ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको डा. नीरज घिमिरेले बताउनुभयो ।

सम्भवतः यस्तो प्रकारको अप्रेशन काठमाडौं पछि नेपालगन्ज मेडिकल कलेजमा भएको उहाँको भनाइ रहेको छ । यस्तो किसिमको शल्यक्रियामा एनेस्थेसियोलोजिष्टद्वारा औसधि दिएर गर्ने गरेको डा. कोलाक्षपतिले बताउनुभयो ।

अन्नपूर्ण न्युर‍ो अस्पताल काठमाडौंको सहकार्यमा नेपालगन्ज मेडिकल कलेजमा सेवा सञ्चालन गरिएको छ । उक्त जटिल शल्यक्रिया गर्नका लागि न्युरोसर्जरी विभागमा कार्यरत डा. मनिष कोलाक्षपति, डा. नीरज घिमिरे, डा. सुवोध गौतम, डा. उमा शर्मा, एनेस्थेसिया विभागका डा. नवीन कुमार रेग्मी, डा. कपिल पोखरेल, ओ. टी. स्टाफ लगायतका कर्मचारीहरुद्वारा गरिएको डा. सुवोध गौतमले बताउनुभयो ।

उक्त शल्यक्रियाबारे मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. सुरेश कुमार कानोडियाले सम्पूर्ण टीमलाई धन्यवाद दिनुका साथी यस्ता किसिमका शल्यक्रिया गर्न, अन्य शल्यक्रिया, उपचारका लागि चाहिने हरेक सरसामान, मेसिन उपलब्ध गराएको र आवश्यक परेमा उपलब्ध गराइने बताउनुभयो ।

सोमबार दिउँसो नेपालगन्ज मेडिकल कलेजमा रहेको कन्फरेन्स हलमा गरिएको पत्रकार सम्मेलनमा विभिन्न मिडियामा कार्यरत पत्रकार, अस्पतालका प्रवन्ध सञ्चालक डा. सुरेश कुमार कानोडिया, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. का निर्देशक डा. सन्तोष कुमार शर्मा, अस्पतालका प्रशासकीय अधिकृत कुमार अधिकारी, कानुनी सल्लाहकार शरद पोखरेल लगायतको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *