बाँकेमा अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित कृषकहरु व्यावसायिक उखु खेती तर्फ आकर्षा भएका छन् । एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’गाउँमा सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरिएको हो ।
उक्त खेतीका लागि शनिबार लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले व्यावसायिक उखु रोपाइँको सुरुवात गर्दै युवापुस्ता कृषिमा लगानीसहित प्रवेश गर्नु सुखद भएको बताउनुभयो । मन्त्री अहिरले आर्थिक विकासका लागि व्यावसायिक कृषिमा जोड दिन आवश्यक भएको बताउनुभयो ।

उक्त प्रा.लि.का सञ्चालक साहिल कुरैसीले जानकी गाउँपालिका –३ इन्द्रपुरमा समेत १२.५ बिघा क्षेत्रफलमा पनि उखु रोपाइँ सुरु गरिने बताउनुभयो । यसैगरी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उखु खेती गरिने बताउनुभयो ।
जानकी –३ मा मिल खोलेर अर्गानिक चिनी, भेली र गुँड उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक कुरैसीले बताउनुभयो । एक पटक उखु रोपेपछि तीन पटकसम्म उत्पादन लिन सकिने सञ्चालक कुरैसीले बताउनुभयो ।
