नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ बाँकेको अध्यक्षमा कृष्णबहादुर बुढा सर्वसम्मत चयन हुनु भएको छ ।
आज नेकपा एमाले पार्टी कार्यालयमा भएको जिफन्टको अधिबेशनबाट सात जनाको कार्यसमिति गठन गरिएको हो । जिफन्ट बाँके जिल्ला इन्चार्ज सुमन गिरी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतम, विशिष्ट अतिथिमा नेकपा एमालेको संघीय सांसद माननीय दीपा शर्मा रहनु भएको थियोे ।
राष्ट्रिय उपाध्यक्ष गौतमले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गर्न अझै पनि आनाकानी गरिएको पाइएको छ, पहिला हाम्रो पार्टी निकटका उद्योग, कलकारखानामा कार्यरत श्रमजीवी श्रमिकलाई सुचिकृत गराउने र पछि सबै सेक्टरमा कार्यरत श्रमिकलाई गराउन आफुहरु लागि परेको बताउनुभयो ।
संघीय सांसद शर्माले श्रमजीवी श्रमिकहरुको हकहितका लागि अग्रणी भूमिका खेलिरहेको जिफन्टले अझ सशक्त रुपमा लागि पर्नु पर्नेमा जोड दिनु भएको थियो । वरिष्ठ युनियन कर्मीका नेता केशब गिरी, जिफन्ट लुम्बिनी प्रदेश सचिवालय सदस्य पुर्ण बहादुर केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य अनिता थापा लगायतको उपस्थिति भएको थियोे ।
जिफन्ट बाँके जिल्ला इन्चार्ज सुमन गिरीले अहिले जिफन्टको बिधान अनुसार जिल्ला तदर्थ समिति सबै पालिकाबाट सदस्य रहने गरि गठन गरिएको छ। यसले पालिका स्तरीय कमिटी गठन गर्ने उहाँले बताउनुभयो । सर्वसम्मतले चयन भएका पदाधिकारीहरु यश प्रकार रहेका छन् । अध्यक्ष पदमा कृष्णबहादुर बुढा, सचिवमा विकास पाठक, सदस्यमा क्रमश मुस्लिम खान, दुर्गा केसी, कमला पाण्डे, गंगा रोकाय, विनोद मल्ल रहनु भएको छ ।

