नेपालगन्ज : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आठ लाख सदस्य पुर्याउने लक्ष्यसहित तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको छ । सदस्यता वृद्धि, सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान सुरु गर्न लागेको हो ।
आजबाट सुरु हुने अभियानका लागि माओवादीले पदाधिकारीसहित केन्द्रीय सदस्यलाई पालिका हुँदै वडा तहसम्म खटाएको छ । अभियानमार्फत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य लिइएको शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट अभियानको दिउँसो १२ बजे उद्घाटन गर्दै छन् । संयोजक जेम्सले जनतासँग माओवादी अभियानअन्तर्गत जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने बताए । साउन तेस्रो साता सम्पन्न माओवादी केन्द्र केन्द्रीय कमिटी बैठकले रूपान्तरण अभियान घोषणा गरेको थियो ।
पार्टीले २०६४ सालमा जस्तै पार्टीलाई नम्बर १ पार्टी बनाउने लक्ष्यका साथ होमिएको पार्टीका सचिवालय सदस्य कुलप्रसाद केसी सोनामले पत्रकार भेटघाटमा बताए । सोही अवसरमा दलाल, भ्रष्टाचारी, नोकरशाहीहरुलाई सामाजिक बहिष्कार समेत गरिने पार्टीको अभियान भएको बताइएको छ ।

