स्थानीय सरकारका चुनौती

विचार/व्लग


छत्र सुनार
उपभोक्ता समितिमा बस्नका लागि निकै ठूलो हानथाप चल्छ । एक अर्काले योजना सम्पन्न गर्दा भ्रष्टाचार गरेको मुद्दा अख्तियारमा पुर्याउनका लागि पनि प्रतिष्पर्धा नै हुने गर्छ । कामको गुणस्तर खोज्ने काम ज्यादै न्यून मात्रामा हुन्छ । सवारीसाधनको प्रयोग, बैठकभत्ता जस्ता सेवासुविधाहरुका लागि आम सहमति हुन्छ तर गरिब, सीमान्तीकृत तथा छेउ पारिएको समुदायको जीवन सहज बनाउने नीति, कार्यक्रम बनाई कार्यान्वयन गर्ने कुरामा विरलै सहमति जुट्छ । रोजगार सिर्जना गर्ने, काम सिर्जना गर्ने र मानिसको गुणस्तरीय जीवनयापनका लागि स्थानीय सरकारका कार्यक्रमहरु कार्यान्वयन हुन कठिन छ ।

बाटो सबैलाई फराकिलो र चौडा चाहिन्छ तर जब आफ्नो वा आफन्तको जमिनमा बाटो पुग्छ, अनि लडाइँ सुरु हुन्छ । आफ्नो योगदान र भूमिकाका लागि ज्यादै थोरै मानिस तयार हुन्छन् । क्षतिपूर्ति भनेजति चाहिन्छ, नत्र काम रोकिन्छ । यो मानसिकताले कसरी विकास प्रक्रियालाई सघाउँछ ? सहर, गाउँ सफा र सुन्दर चाहिन्छ तर घरबाट निस्केका फोहर बाटोमा लगेर फालिन्छ । सबैलाई आफ्नो हक अधिकार चाहिन्छ तर अरूको हक अधिकारको कुरालाई कसैले वास्ता नगर्ने आम प्रचलन छ । विरोध गर्ने स्वतन्त्रता हरेक नागरिकसँग छ तर विकल्प के हो ? कसैलाई थाहा छैन ।

सरकारी पैसा त हो ? कसैको घरबाट जाने होइन ? भन्ने चेतनाबाट ग्रसित मानसिकतामा परिवर्तनका लागि काम हुन सकेका छैनन् । हरेक नागरिकले तिरेको पैसाबाट बजेट बन्छ र यो हाम्रो पैसा हो भन्ने वास्तविकता बुझाउन नसक्दा नागरिक तहबाट खबरदारी हुन सकिरहेको छैन । हामीले तिरेको करले नै हाम्रा लागि विकास गर्ने हो भन्ने धारणा बन्न सकिरहेको छैन । अनि कसरी हुन्छ मुलुकमा समृद्धि ?

उत्पादन प्रणाली र वातावरण संरक्षण:
कृषि उत्पादन बढाउनुपर्ने विषयमा सबै सहमत छन्क तर उत्पादन प्रणालीमा जोडिन कोही तयार छैनन् । कर्मचारी, शिक्षक, जनप्रतिनिधि सबैले कृषि उत्पादनका विषयमा धेरै लामा लामा भाषण दिन्छन् तर साँझ बिहानको समयमा आआफ्नो घर वरिपरि करेँसाबारीमा गएर कुटो चलाउँदै आफ्ना लागि करेँसाबारी निर्माण गर्न तयार छैनन् । हरेक पेसामा रहेका मानिसले साँझ बिहानको समय आफ्नो घरवरिपरि तरकारी रोपेर आफ्ना लागि आफै उत्पादन गर्ने अभियान सञ्चालन नगरेसम्म उत्पादन बढाउने कुरा सम्भव छैन र छिमेकी मुलुकबाट विषादी प्रयोग गरिएको तरकारी रोक्ने अभियान पनि सफल हुन सक्दैन । हरेक नागरिक उत्पादन प्रणालीमा आबद्ध हुने कुराले हाम्रो उत्पादन बढाउने अभियानलाई अग्लो र समृद्ध बनाउन ठूलो सहयोग गर्छ ।

स्थानीय सरकार चुकेको अर्को ज्यादै महत्त्वपूर्ण विषय हो वातावरणको संरक्षणको क्षेत्र । हामीले निर्माण गर्न थालेको विकास अभियानलाई वातावरण मैत्री बनाउनु जरुरी छ । बढ्दो जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेका हामीलाई हाम्रो विकास अभियानलाई वातावरण अनुकूल बनाउनु आवश्यक छ । जथाभावी डोजर लगाएर बाटो खन्ने र भएभरका रूख बिरुवा नष्ट गर्दै जाने हो भने यसले नियमित रूपमा प्राकृतिक विनास निम्त्याउने निश्चित छ । प्राकृतिक रूपमा बग्ने खोलाहरु सहर निर्माण गर्ने क्रममा सबै मिचिएको र खोलामा घर बनाउने कामलाई तत्काल रोक्न सकिएन भने त्यसले डुबान बढाउने खतरा नजिक छ । यसर्थ हाम्रो विकास अभियानलाई वातावरणमैत्री बनाउन विशेष ध्यान दिनु जरुरी छ ।

कम्तीमा ५० वर्षपछिको हाम्रो गाउँपालिका, हाम्रो नगरपालिका कस्तो ? भन्ने परिकल्पना वा दूरदृष्टिका साथ काम नगर्ने हो भने पछिल्लो पुस्ताले हामीलाई सराप्ने निश्चित छ । खुल्ला ठाउँ, शैक्षिक केन्द्र, औद्योगिक क्षेत्र, खेल मैदान रङ्गशाला, स्वास्थ्य आदि जस्ता क्षेत्र कहाँनेर ? कसरी हुन्छ भन्ने कुरालाई ध्यान दिन सकिएन भने बढ्दो सहरीकरण र जमिनका ब्यापारले हामीसँग भएको भूमि सबै सकिने अवस्था हाम्रा नजिक छ भन्ने चेतना राख्नैपर्छ ।
निष्कर्ष:
अधिकार सम्पन्न स्थानीय सरकारका सामु असङ्ख्य सम्भावनाहरु छन् । नागरिक अपेक्षालाई सम्बोधन गर्न साझा र सामूहिक प्रयास र प्रयत्न आवश्यक छन् । विचारमा भिन्नता छ, व्यवहारमा भिन्नता छन् । काम गर्ने तरिकाहरुमा भिन्नता छ तर विकास अभियानलाई साझा अभियान र सहमतीय प्रणाली स्थापित गर्दै नागरिक जीवन सहज बनाउनका लागि साझा चिन्तन र व्यवहार आवश्यक छ ।

योजनाबद्ध रूपमा हाम्रा प्रयासलाई अघि सार्दै जहाँनेर समस्या सिर्जना हुन्छ त्यहीँनेर आवश्यक कार्यविधि, कानुन बनाएर त्यसलाई कार्यान्वयनका प्रयत्नहरु आवश्यक छन् । स्थानीय सरकारहरूले स्थानीय सबै सरोकारवालालाई समन्वय र संवादमार्पmत विश्वासमा लिएर आम नागरिकलाई विकास प्रक्रियामा सँगसँगै लिएर जाने अभ्यासहरुको खाँचो छ ।

सुशासनलाई हरेक नागरिकहरुको जीवन संस्कृतिका रूपमा विकास गर्दै हरेकले असल काम, इमानदारिता र उच्च नैतिकबलका साथ अघि बढाउँदै निर्वाचित जनप्रतिनिधि र निजामती कर्मचारीका बीचमा पर्याप्त

संवादका माध्यमबाट असल र समझदारीपूर्ण विश्वासका साथ काम गर्ने हो भने हामीले हाम्रो लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आम नागरिकको विश्वास आर्जन गर्न सकिन्छ ।
सबै काम र गतिविधिहरुलाई प्रणालीबद्ध बनाउँदै हरेक विकास गतिविधिलाई जनकेन्द्रित बनाउने प्रयास र प्रयत्न अघि बढाउन सकिन्छ । हाम्रा हरेक विकास गतिविधिले आम नागरिकको जीवन सहज बनाउने र हरेक नागरिकको जीवन सहज बनाउँदै उनीहरुको गुणस्तरीय जीवन बनाउने कुरामा विशेष ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *