काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दावी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत रकम हस्तान्तरण गरेको हो ।
आज भएको कार्यक्रममा सुर्योदय नगरपालिका इलामका नगर प्रमुख, उप-प्रमुख, वार्ड अध्यक्ष तथा कम्पनीको तर्फबाट प्रदेश नं. १ का प्रमुख तुलसीनाथ पौड्याल तथा इलाम शाखा प्रमुखको रोहवरमा निज मृतकको श्रीमती नानुका अधिकारीलाई दाबी बापतको रकमको चेक हस्तान्तरण गरिएको हो ।
मृतक निज प्रेम प्रसाद आचार्यले २०७७ मंसिर ३० गते कम्पनी मार्फत रु. ५० लाखको धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमा गराएका थिए र २ किस्ता बापत ६ लाख ९३ हजार ६ सय रुपैँया बीमाशुल्क बुझाएका थिए । कम्पनीले आज ५० लाख १२ हजार १९४ रुपियाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले आचार्यको निधन भएको १४ दिनमै दावी भुक्तानी गर्न सफल भएको हो ।
