नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेले आज १९ औं स्थापना दिवसमा शुभकामना आदानप्रदान तथा अन्तक्रिर्या कार्यक्रम गरेर मनाएको हो ।
१९ औं स्थापना दिवसका अवसरमा प्रेस सेन्टर नेपाल बाँके शाखाले आज नेपालगंजमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय सचिव खानले भन्नुभयो, ‘नेतागिरी गर्न होइन, पत्रकारिता गर्न संगठनमा जोड्दै छौं, संगठन विस्तार सगैं दक्ष पत्रकार बनाउदै छौं ।’ प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खानले गणतन्त्र जोगाउन र ब्यवासायिक मिशन पत्रकारितालाई अगाडि बढाउने आफनो संगठनको मुख्य एजेन्डा रहेको बताउनुभएको छ ।

यसै गरी प्रेस सेन्टर नेपालका केन्द्रिय नीति तथा परामर्श समिति सदस्य शुसिल लामिछाने, केन्द्रिय सदस्य शिव सुनार, लुम्विनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्लेले तत्कालिन अवस्थाको जनपक्षिय मिशन पत्रकारिता, स्वर्गीय पत्रकार कृष्णसेन ‘इच्छुक’ को योगदान, संविधान, हालसम्मका उपलब्धीहरुको रक्षा, अबको ब्यवासायिक पत्रकारिता लगायतका बिषयमा चर्चा गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका नेपालगंज नगर अध्यक्ष रतन बहादुर शाहीले देशमा ब्यवस्था परिवर्तन भएपनि अझै जनताको अवस्था परिवर्तन नभएको भन्दै अब जनताको अवस्था परिवर्तनका लागी आलोचनात्मक चेत राखेर आ–आफनो ठाउँबाट खबरदारी गर्न, जनपक्षिय पत्रकारितालाई अगाडी बढाउन आग्रह गर्नुभयो ।
प्रेस सेन्टर नेपाल बाँके शाखाका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले पत्रकारितालाई मर्यादित पेशाका रुपमा विकास गर्न चुनौति थपिएको भन्दै यसमा महासंघले काम गरिरहेको बताउनुभयो ।
यस्तै उहाँले प्रेस सेन्टर नेपालले महासंघको हलमा कार्यक्रम राखेर चहलपहल बढाएकोमा खुसी ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ बाँकेको सभा हल सबै पत्रकार संगठनहरुका लागी निशुल्क रुपमा उपलब्ध गराईएकोले सदुपयोग गर्न अनुरोध पनि गर्नुभयो ।
प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकायले प्रेस सेन्टर नेपाल स्थापना दिवसको अवसरमा शुभकामना दिदै पत्रकारिता क्षेत्रमा केही विसंगति र विकृती महसुस गरिएकोले मर्यादित पत्रकारिता पेशा बनाउन सबै मिलेर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
यस्तै नेपाल प्रेस युनियन बाँकेका सचिव बिजय मल्लले वास्तविक पत्रकारलाई सबै मिलेर हौसला प्रदान गर्नुपर्नेमा जोड् दिनुभयो । पत्रकारिता गर्नेहरु र पत्रकारको नाममा ठगी धन्दा गर्नेहरुलाई पहिचान गरि कानुनी दायरामा ल्याउनुपर्ने उहाँको भनाइ रहेको थियो ।

