नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एउटा घरमा आज बम विष्फोट भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १० निवासी सृजन भनिने दिवाकर मल्लको घरमा राती सवा आठ बजे तिर भएको बम बिष्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठन बांकेका अध्यक्ष सल्यान बागचौर–२ निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका १ कैलालीका धर्मराज सुनार घाइते भएको प्रहरीले बताएको छ ।

घाइते मध्ये सुनारको अबस्था चिन्ताजनक रहेको छ । उनलाई भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको छ । अर्का घाइतेको भने भेरी अस्पतालमै उपचार भैरहेको छ । बाँकेका डिएसपी रामप्रसाद घर्तीले कुकर बम बिस्फोट भएको पुष्टि गर्नु भएको छ । उनीहरुले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
घटनास्थलमा थप बम फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली अहिले परिचालन गरिएको छ । डिल्ली एक वर्ष अघि मल्लको घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
