मृतक चौधरीको पार्थिव शरीरमा खेलकुद मन्त्रीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

लुम्बिनी प्रदेश बिशेष

बाँके -भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन ।

मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृह नगर बाँके ल्याईएको थियो । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन बेलासपुर पुग्नुभएका मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन ।

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेलकुद क्षेत्रमा अपुरणिय क्षती पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले श्रद्धाञ्जली अर्पण गरे ।

१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएकी थिईन । ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिईन ।

चौधरीको उनकै गृहनगरमा बुधबार धार्मिक बिधि अनुसार अन्तिम संस्कार गरिएको छ ।उक्त श्रद्धाञ्जली कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *