नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर आन्दोलनमा छन् । उक्त आन्दोलनलाई संयुक्त ट्रेड युनियन समन्वय समिति जेटियुसीसी बाँकेले एक विज्ञप्ति निकाली ऐक्यबद्धता जनाएको छ ।
कर्मचारीहरुले कानुनी प्रक्रिया पूरा गरि राखेका जायज मागहरुमा व्यवस्थापन पक्ष गम्भीर नभएको जेटियुसिसीको भनाइ रहेको छ । कानुन सम्मत तरिकाले मागपत्र राखेर गरिएको आन्दोलनका मागहरुका बारेमा व्यवस्थापन पक्ष गम्भीर भएर पूरा गर्नुपर्ने तर्फ लाग्नुपर्ने उक्त विज्ञप्तिमा भनिएको छ ।

छलफल र सम्बादबाट मागहरु सम्बोधन गर्नुपर्नेमा डरधम्की दिएर आन्दोलन बिफल तुल्याउने काम गरिएका त्यसको भागिदार संस्था हुनुपर्ने बताइएको छ ।
श्रम ऐनलाई टेकेर कानुन सम्मत तरिकाले गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप नगरि वार्ताको माध्यमबाट टुंगोमा पुर्याउनु पर्ने ट्रेड युनियनको भनाइ रहेको छ । संयुक्त ट्रेड युनियन समन्वय समिति बाँके जेटियुसिसीका अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बसन्त मल्ल, नेपाल ट्रेड युनियन कांग्रेसका बाँके जिल्ला अध्यक्ष राम बहादुर मल्ल, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँके जिल्ला संयोजक टी-एन- रावतले संयुक्तरूपमा हस्ताक्षर गरि ऐक्यबद्धता जनाउनु भएको छ ।

