नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर अस्पतालमा कार्यरत कर्मचारी आन्दोलनमा छन् । प्रशासकिय कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले आजदेखि आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् ।
कर्मचारीहरुले आफुहरुको जायज मागहरुमा व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । यहाँसम्मकी सरकारले उपलब्ध गराएको सेवासुविधा समेत अस्पताल प्रशासनले आफैले राखेको तर कर्मचारीहरुलाई नदिएको उनीहरुको आरोप छ । तलवभत्ता वृद्धि लगायतका उनीहरुको मुख्य माग छ ।

आपतकालिन सेवा बन्द गर्नु अघि आयोजित कोणसभालाई सम्वोधन गर्दै आन्दोलन परिचालन समितिका केन्द्रीय संयोजक यमबहादुर खड्काले अस्पतालले कर्मचारीलाई शोषण गरेको आरोप लगाउनुभयो ।
पाँच वर्षदेखि कर्मचारीहरुको तलववृद्धि नभएको उहाँको भनाइ छ। स्थायी, अस्थायी र करारका कर्मचारीहरुको तहगत रुपमा नेपाल सरकारले कायम गरेअनुसार तलवभत्ता वृद्धि गरिनुपर्ने उहाँको भनाइ छ ।
पोषाक भत्ता स्वरुप प्रतिमहिना ६ सय रुपैयाँ दिने गरिएको छ । यस्तो महंगीमा त्यो कसरी सम्भव छ उहाँले भन्नुभयो–‘कम्तिमा यसलाई दोब्बर पार्नु पर्छ ।’ जोखिम र फर्मालिन भत्तालाई दुई सयबाट वृद्धि गरी पाँच सय पुर्याउनु पर्ने उहाँको भनाइ छ।
आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले माग सम्वोधन नभए थप आन्दोलन गर्ने चेतावनी दिनुभयो । अस्पताल व्यवस्थापनले पटकपटक सहमति गर्ने र त्यसको पालना नगर्ने गरेको भन्दै आपत्ती जनाउनुभयो । भोलिसम्म माग समवोधन नभए थप कडा आन्दोलन गरिने उहाँको भनाइ छ।
कार्यक्रममा बोल्ने अधिकांश युनियनका नेताहरुले व्यवस्थापन पक्षले कर्मचारीहरुका जायज मागहरु तत्काल सम्बोधन गरी अस्पताललाई सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । अान्दोलन परिचालन कमिटी नेपालगन्जका संयोजक मुस्लिम खानले भोलि सम्म माग सम्बोधन नगरिए साँझ ५ बजे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताउनुभयो ।


