पहिरोबाट विस्थापित परिवारको मुहारमा खुसी छाएको छ । नेपाली सेनाले सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापितहरुलाई अस्थायी आवास भवन बनाएर हस्तान्तरण गरेको छ ।
बिपदका कारण विस्थापित भई करिब एक बर्षदेखि पालमा बसोबास गरिरहेका ३१ घर परिवारको लागि राहत प्रदान गर्ने सत्कार्यमा सहभागी हुन पाएकोमा नेपाली सेनाले खुशी व्यक्त गरेको छ ।
जुगल गाउँपालिका—१ लिदीमा गत वर्षको साउन ३० गते गएको पहिरोबाट विस्थापित परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरेको हो ।
श्री नम्बर २६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा अस्थायी आवास हस्तान्तरण गरेको सेनाले जनाएको छ ।

उक्त ठाउँमा सेनाले ३१ अस्थायी आवास भवन, सात शौचालय, एक बाथरुम, एक क्यान्टिन र एक हेल्थ पोष्टको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको बताइएको छ । हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जुगल गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । गत वर्ष लिदी बस्तीमा पहिरोमा परी ३९ जनाले ज्यान गुमाएका थिए ।
