– गगन पौडेल
नेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज, पश्चिम नेपालकै प्रतिष्ठित तथा विशाल स्वास्थ्य संस्थाका कर्मचारीहरु आन्दोलित छन । सो अस्पतालमा कार्यरत सबै तीन महिनादेखि मासिक पारिश्रमिक नपाएको, सामाजिक सुरक्षा कोषमा दिने भनेर काटेको रकमको हिसाब, नाइट तथा जोखिम भत्ता, कोभिड जोखिममा काम गर्दा खाजा खर्चको रकम आदि नपाएको भन्दै गत श्रावण १ देखि शिक्षण अस्पताल नेपालगन्ज परिसरमा आन्दोलनरत छन ।
आन्दोलन स्वस्फूर्त रुपमा रहेको, भोको पेट र पसलको उधारो धान्न नसकेर दवावमा छौँ, तलब भत्ता पाउनैका लागि आन्दोलनको विकल्प नदेखिएको, ट्रेड युनियनको प्रक्रिया लामो भएको हुदा तलबकै लागि ती सबै प्रक्रिया पूरा गर्न लामो र सहनै नसक्ने समस्या परेकाले स्वास्थ्य परिक्षण गर्न आउने सेवाग्राही र अन्तरंग बिरामीलाई कुनै पनि मर्का नपर्ने गरी आलोपालो मिलाएर आन्दोलनमा सरिक रहेका छौँ । आन्दोलनरत नर्सिङ कर्मचारी सुमन गिरीले जानकारी दिनु भएको छ ।

संस्थाले श्रमजीवी कर्मचारीलाई काम लगाए पछि समयमा पारिश्रमिक कसरी दिने भन्ने योजना बनाउनु पर्छ, असल व्यवस्थापनको आधारभूत तत्व नै ज्याला व्यवस्थापन हो। दुई-तिन महिनासम्म घरमा ज्याला लान नपाउदा लाला बाला कसरी हुर्काउने भनेर अनुनय विनय गर्नुसम्म गरियो, अब बिन्ती होइन आक्रोश उब्जेको छ। आक्रोशले बिरोध गर्न उत्प्रेरित गर्छ र नचहदा नचाहदै पनि आन्दोलित भईने रहेछ । यो कुनै कानुनी र राजनैतिक पक्ष मात्रै होइन, नितान्त पेटको लागि प्राकृतिक विधि हो, श्रमजीवी कामदारको भोकभोकै रहदाको विचलन हो” आन्दोलित एङ्गिरा रेग्मीले बताउनुभयो ।
आफुहरु बिना एसी अफिसमा बस्नै नसक्ने, महिनैपिच्छे दर्जनौं एसी थप्न सक्ने, बिजुली र ईन्धनको खर्च बर्सेनि बढदैजाने, उपल्लो तहका पदाधिकारीले एकै ठाउँ एकैपटक जादा पनि अलगअलग गाडीमा जानुपर्ने, पदाधिकारीका आवासमा झन भन्दा झन चकाचौध सजावटमा खर्च गर्न बेहिचक सक्ने तर कोभिड जस्तो जोखिममा डाईपर लगाएर सकि नसकी गरेको सेवाको ज्याला समयमा नदिनु व्यवस्थापन पक्षको कमजोर पक्ष सावित भएको देखिन्छ । व्यवस्थापनको यस्तो चरित्रले संस्थाको दशकौंदेखिको असल साख डुवाउने र पिंधमै खसाल्ने प्रवृत्ति होइन कसले भन्न सक्छ ? सहभागी आन्दोलनरत कर्मचारीहरुले भनेका छन।
अस्पताल जस्तो अत्यावश्यक सेवा प्रदायक संस्थामा यसरी चरम समस्या हुदा संस्थापन पक्षले आन्दोलनरत कर्मचारीसंग समस्या समाधान गर्न पहलसम्म नगर्दा आन्दोलनले भर्ना भएका बिरामी र सामान्य सेवाग्राहीलाई नराम्रो असर पर्ने देखिन्छ । अस्पताल जस्तो स्वास्थ्य सेवा दिने महत्त्वपूर्ण संस्थाका कर्मचारीको ज्याला दिलाउन र अस्तव्यस्तता हटाउन सबै पक्षले ध्यान दिन जरुरी देखिन्छ ।
