मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु

विचार/व्लग

मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु,
आँधी आए पनि, हुरी चले पनि नझुक्ने छु।
यो माटो मेरो अस्तित्व हो, मेरो पहिचान हो,
यसको रक्षा गर्न अन्तिम साससम्म लड्ने छु।।

यो भूमि केवल जमिनको टुक्रा होइन,
यो त पुर्खाको पसिना र बलिदानको चिनो हो।
यहाँ हाम्रा सपना उम्रिएका छन्,
यहाँ हाम्रा इतिहास र भविष्य गाँसिएका छन्।।

जब कसैले यो माटोमाथि आँखा लगाउँछ,
मेरो रगतभित्रको विद्रोह जाग्छ।
म चुप लागेर तमासा हेर्ने मान्छे होइन,
अन्यायविरुद्ध जुध्ने साहस बोकेको सन्तान हुँ।।

मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु,
ढुङ्गाजस्तै अटल र पहाडजस्तै दृढ भएर।
मेरो शरीर ढले पनि विचार ढल्ने छैन,
मेरो आवाज रोकिए पनि प्रतिरोध रोकिने छैन।।

यदि आवश्यक परे
म आफ्ना सुख–सुविधा त्याग्ने छु,।
यदि आवश्यक परे,
म आफ्ना सपना पनि बलिदान दिने छु।
तर मेरो भूमि, मेरो स्वाभिमान र मेरो अधिकार
कसैको पैतालामुनि पर्न दिने छैन।।

यो माटोमा किसानको पसिना मिसिएको छ,
श्रमिकको संघर्ष मिसिएको छ।
यो भूमि दलित, महिला, उत्पीडित र गरिबको पनि हो,
त्यसैले यसको रक्षा सबैको कर्तव्य हो।।

म सीमा जोगाउने सैनिक नभए पनि,
माटोको पक्षमा उभिने नागरिक अवश्य हुँ।
मेरो कलमले बोल्नुपरे बोल्नेछ,
मेरो आवाजले गुञ्जिनुपरे गुञ्जिनेछ।।

एक दिन शरीर माटोमा मिल्ला,
तर माटोप्रतिको प्रेम कहिल्यै मर्ने छैन।
मेरो नाम इतिहासमा रहोस् वा नरहोस्,
मेरो भूमि स्वतन्त्र र सम्मानित रहोस्।।

त्यसैले आज फेरि भन्छु—
मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु,
अन्तिम साससम्म नझुक्ने र नबिक्ने छु।
यो माटोको रक्षा नै मेरो धर्म हो,
मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु।।
दिपक मल्ल डि.वी. ( वाइसीएल सचिव हुन् )।

Leave a Reply

Your email address will not be published. Required fields are marked *