नेपालगन्ज — बाँके निर्वाचन क्षेत्र नं. २ मा “मेरो भोट तपाईंलाई किन?” विषयक नेपालगन्ज जेसीसले गरेको ककस कार्यक्रम सम्पन्न भएको छ। नेपालगन्ज जेसीज तथा नेपालगन्ज जुनियर जेसीजको आयोजनामा नेपालगन्जको बि.पी. चोकमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा विभिन्न साना तथा वैकल्पिक राजनीतिक दलका नेताहरू सहभागी भई आफ्नो चुनावी एजेण्डा र प्रतिबद्धता प्रस्तुत गरेका थिए। तर ठूला राजनीतिक दलका प्रमुख नेताहरू भने कार्यक्रममा अनुपस्थित रहँदै बहिष्कार गरेको आयोजक जेसीसले जनाएको छ।

उपस्थित उम्मेदवारहरूले स्थानीय विकास, सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण तथा जनतासँग प्रत्यक्ष जवाफदेहिता कायम गर्ने विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले ठूला दलहरूको अनुपस्थितिका कारण मतदाताले वैकल्पिक नेतृत्वको खोजी गर्नुपर्ने आवश्यकता औंल्याए।
आयोजक संस्थाले मतदातालाई सूचित निर्णय लिन सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। ठूला दलको सहभागिता नहुँदा अपेक्षाअनुसार बहस हुन नसकेको भए पनि उपस्थित उम्मेदवारहरूबीच प्रश्नोत्तर र अन्तरक्रिया प्रभावकारी बनेको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा उल्लेख्य रुपमा स्थानीय जनताको पनि उपस्थिति नभएको हुदाँ जेसीसको ककस कार्यक्रममा प्रश्नचिह्न खडा भएको छ । ठूला राजनीतिक दलको स्रोत अनुसार जेसीसले ककस कार्यक्रम गर्दा आर्थिक सहयोग मागेको जनाएका छन् ।
उक्त ककस कार्यक्रममा बाँके क्षेत्र नं २ बाट २० जना व्यक्तिहरु चुनावी मैदानमा रहेपनि जम्मा ७ जना मात्रै उपस्थित भएको जेसीसले जनाएको छ ।
जेसीसको ककस कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार आएर विशेष काम पर्यो भनेर जानुभएको, रास्वपा, राप्रपा, जसपा नेपालका उम्मेदवार सहभागी नभएको जेसीसले जनाएको छ ।सबै उम्मेदवारलाई खबर गरिएको र जनताबाट भागेको आरोप जेसीसको रहेको छ।
उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका उम्मेदवार जगदिश ढकाल, श्रम संस्कृति पार्टीका उम्मेदवार राम चरण चौधरी, स्वतन्त्र उम्मेदवार गोपालप्रसाद गिरी, स्वतन्त्र उम्मेदवार शौभाग्यजङ्ग शाह, नेकपा माओवादी, आम जनता पार्टी, उज्यालो नेपाल पार्टीका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

