नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत कर्मचारी संगठनका पूर्व अध्यक्ष टि.एन. रावतको ५२ वर्षको उमेरमा असमायिक निधनले त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरु लगाएत बाँके जिल्लामै शोक छाएको छ।
गएराति रावतको उपचारका सिलसिलामा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । स्वर्गीय रावतको निधनले स्वास्थ्य क्षेत्र तथा कर्मचारी आन्दोलनमा गहिरो शोक छाएको ट्रेड युनियनका नेताहरूले बताएका छन्। रावत उक्त संस्थामा मात्रै नभएर बाँके जिल्लामै ट्रेड युनियनका नेताका रुपमा ट्रेड युनियन कर्मीहरुको हकहितका लागि लामो समय काम गर्नु भएको थियो ।

कर्मचारीको हकहित, अधिकार र संस्थागत एकताको पक्षमा सदैव सक्रिय रहँदै आएका रावतलाई एक इमानदार, हठी स्वभावका, कर्मठ र दूरदर्शी नेतृत्वकर्ताका रूपमा चिनिन्थ्यो।
उहाँको नेतृत्वमा संगठन स्थापना भएको कर्मचारी संगठनले कर्मचारीको पेशागत सुरक्षा, सेवा सुविधा र सम्मानका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। सहकर्मी, शुभेच्छुक तथा ट्रेड युनियनकर्मी तथा स्थानीय समुदायले उहाँको निधनले अपूरणीय क्षति भएको बताएका छन्।
स्वर्गीय रावत केही महिनादेखि कलेजो सम्बन्धि रोगको उपचार गराउदै आइरहनु भएको थियो । उहाँले बाँके जिल्लामा मात्रै नभएर देशमा नै ट्रेड युनियनको नेता भएर निरन्तर लडिरहनु भएको उहाँका शुभचिन्तकहरुले बताएका छन् । उहाँ नेपाल ट्रेड युनियन महासंघ जिफन्टको बाँके जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य तथा नेकपा एमालेको बाँके जिल्ला सदस्य समेत भएर काम गर्नु भएको थियो ।
