– बिष्णु प्रसाद पोखरेल
आज डिसेम्बर ३, आजको दिनलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको रुपमा मनाउन लागेको तीन दशक पूरा भएछ । नेपालका सन्दर्भमा यस दिवसको महत्त्व र अपाङ्गता भएका व्यक्तिको अवसर र अधिकार बारे शिक्षित र सबल वर्गका व्यक्तिले बुझेता पनि स्ययं अपाङ्गता भएका केही मात्रै व्यक्तिले बुझ्न र उपयोग गर्न सकेका छन भन्न अत्युक्ति नहोला ।
कानुन र सरकारी योजनाका पाना हेर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरूको लागि निकै कसरत भएको छ । नेपालको संविधान-२०७२ मा अपाङ्गता भएका व्यक्तिहरूको अवसरमा अग्राधिकार देखि शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगार लगायत आधारभूत कुराहरू मौलिक हकमै समेटिएका छन । यस्तै सम्बन्धित कानुन र नियमावलीमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सामाजिक सुरक्षा, अवसर, सहायक सामाग्री, शिक्षा, रोजगार आदि राम्रोसँग समेटिएको पाईन्छ ।
उपरोक्त तथ्यमा ध्यान दिदा हाम्रो राज्य संरचनाको तहहरुमा अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक अवसर के कति उपलब्धता छ लेखाजोखा भने कमै गरिन्छ, अझ उपादेयता त नगण्य नै छ भन्न सकिन्छ ।
संघिय सरकार, प्रदेश सरकार देखि स्थानीय तह सम्म अपाङ्गता भएका व्यक्तिहरूको लागि के कस्ता योजना तर्जुमा गरिने, के कसरी अपाङ्गता भएका व्यक्तिहरूको हातमा वा घरदैलोमा सेवा प्रवाह बढाउने भन्नेमा द्विविधा र अनिर्णयको पाटाहरु प्रसस्तै देखिन्छन् ।
संघिय सरकारले अपाङ्गता भएका व्यक्तिहरूको लागि प्रवाह गरिएका सेवा स्थानीय तहले गर्ने नीति बनेपछि निर्णय छिटो हुने सम्भावना बढेको छ । यद्यपि कानुनी तथा प्राविधिक चुस्तता नहुदा धेरै सुविधाको उपयोग गर्न नपाउने र आवश्यकता भएको सेवा बस्तु भन्दा स्थानीय तहले सहजरूपमा जे पाउँछन् त्यसको व्यवस्थापन हुने प्रचलन बढेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको लागि स्थानीय तहमा यस किसिमका कार्यक्रम सन्चालन गरिएकोमा उनीहरूलाई सहजरूपमा सेवा उपलब्ध हुन सक्ने देखिन्छ । यी हाम्रा अनिवार्य दायित्व पनि हुन !
# अपाङ्गता भएका व्यक्तिहरूको नियमित रुपमा तथ्यांक संकलन गर्ने, स्थानीय तहमा पायक पर्ने स्थानमा निजी वा संस्थागत सेवा प्रदायकसंग समन्वय गरी स्वास्थ्य सुविधा, सहायक सामाग्री व्यवस्थापन तथा अपाङ्गता परामर्श सेवा केन्द्र संचालन गर्ने ।
# अपाङ्गता भएका व्यक्तिहरूको लागि सहजरूपमा परिचयपत्र, स्वास्थ्य सेवाहरू, पोषणयुक्त खानाको व्यवस्थापन गर्न पहल गर्ने ।
# अपाङ्गतामैत्री भवन, शौचालय, कक्षा कोठा बनाउन जोड दिने, स्थानीय तहका प्राविधिकले भौतिक संरचना बनाउदा अपाङ्ग मैत्री संरचनाको डिजाइन गर्ने ।
# अशक्त तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका केयर टेकर वा अभिभावकहरूलाई विषेश तालिम दिने।
# अपाङ्गता सम्बन्धी कानुन, संवैधानिक हक, नीति नियमावली, गाईडलाईन बारे स्थानीय तहमा जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा सरोकारवालाहरूको लागि बैठक तता कार्यशाला सञ्चालन गर्ने ।
# कानुन र सरकारी नीति अनुसारका संसथागत या सामुदायिक विद्यालयमा छात्रवृत्तिको दिने र सो व्यवस्था पालना भयो भएन अनुगमन गर्ने ।
अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता सहजरूपमा प्रदान गर्न पहल गर्ने।
# ट्राई साईकल, ह्विल चेयर, ब्रेस बेल्ट, बैसाखी, लट्ठी जस्ता सहायक सामाग्रीको समुचित उपलब्धता, मर्मत सम्भार सकभर निशुल्क वा सहजरूपमा गराउने !बजारीकरणको लागि सहयोग गर्ने ।
# अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारका अवसर र सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्ने ।
कुनै पनि व्यक्ति कुनै पनि बखत अपांग हुन सक्दछ, अनि अपाङ्गता भएको व्यक्तिको खास विषयमा फरक क्षमता मात्रै हुने हुन्छ । तसर्थ भेदभाव विना हेला-दया होइन अवसर र सम्भावना खोजौं, पुण्य कमाअौं, अपाङ्ग दिवसको शुभकामना !!