स्वच्छ सफा नेपालको १२औँ वार्षिक साधारण सभा सम्पन्न

मुख्य खबर

काठमाडौं- पर्यावरण संरक्षण र दिगो फोहर व्यवस्थापनमा क्रियाशील गैर-नाफामुखी संस्था स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) ले आज काठमाडौंमा आफ्नो १२औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ।

२०७१ साल जेठ ८ गते स्थापना भएको यस संस्थाले स्वच्छ वातावरण, स्वच्छ हावा, स्वच्छ पानी र जिम्मेवार जीवनशैली प्रवर्द्धन गर्दै आएको छ।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा ३,६०० भन्दा बढी अभियानकर्मीको सहभागितामा १५० टन फोहर संकलन, ५०० जनालाई प्लास्टिक व्यवस्थापन तालिम, ५३० जनालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण, ४६८ जनालाई सामाजिक सुरक्षा कोष  योजनामा आवद्ध, २,२०० भन्दा बढी बृक्षारोपण, २६५ जनाको जलवायु न्यायसम्बन्धी क्षमता विकास, ४५ सरसफाइकर्मी महिलालाई स्वास्थ्य सेवा तथा ५७ विद्यालयका ४,००० भन्दा बढी विद्यार्थीलाई शून्य फोहर कार्यक्रम अन्तर्गत तालिम प्रदान गरिएको उल्लेख छ।

कार्यक्रममा कोषाध्यक्ष नवराज पौडेलले संस्थाको वार्षिक आम्दानी रु. ४ करोड ८० लाख ५२ हजार ७२७ र खर्च रु. ३ करोड ९६ लाख ३८ हजार ९५५ भएको वित्तीय प्रतिवेदन प्रस्तुत गरे। लेखा परिक्षक सुजन सुबेदीले संस्थाको लेखा प्रणाली उत्कृष्ट र पारदर्शी रहेको बताए।

कार्यकारी निर्देशक रविन्द्र लामिछानेले नदी सरसफाइ, अनौपचारिक सरसफाइकर्मीको पेशागत हित संरक्षण, उद्यमशीलता प्रवर्द्धन, तथा जलवायु न्यायका क्षेत्रमा संस्थाले उल्लेख्य योगदान गरेको जानकारी दिए।

साधारण सभामा सरोकारवालाहरूले क्लिन अप नेपालको कामले गैरसरकारी संस्थाप्रति विश्वास जगाएको उल्लेख गर्दै आगामी दिनमा स्रोतको विविधीकरण र दीर्घकालीन योजनामा ध्यान दिनुपर्ने सुझाव प्रस्तुत गरे।

कार्यक्रममा ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, समाजकल्याण परिषद, विभिन्न साझेदार संस्था, निजी क्षेत्रका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *