नेपालगन्ज- कोहलपुर सडकखण्ड तत्काल मर्मत नगरे सडक डिभिजन कार्यालयमा तालाबन्दी गरिने

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज – नेपालगन्ज- कोहलपुर  सडकखण्ड तत्काल मर्मतको माग गर्दै सडकमै उभिएर खबरदारी सभा गरिएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार बिहान १० बजेको समयमा  सडकमा नै पत्रकार सम्मेलन गरी जीर्ण सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

कोहलपुर नगरपालिका हवल्दारपुरस्थित सडक खण्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले लामो समयदेखि नेपालगन्ज -कोहलपुर  सडकखण्ड मर्मत नहुँदा सवारीसाधन मात्र नभई पैदल यात्रु समेत जोखिममा परेको बताए । सडक मर्मतका लागि खनेर छोडीएका कारण दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै खड्काले तत्काल मर्मत प्रक्रिया सुरु नगरे सडक डिभिजन कार्यालय नेपालगन्जममा तालाबन्दी समेत  गरिने चेतावनी  दिएका छन्  ।

सडक मर्मतका लागि यहि २१ गते जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन कार्यालय नेपालगन्जलाई ७ दिने अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाईएको जानकारी दिदैं अध्यक्ष खड्काले सम्बन्धित निकायबाट कुनै प्रक्रिया सुरु नभएकाले दवाव स्वरुप पत्रकार सम्मेलन गर्नुपरेको बताए । पत्रकार सम्मेलनबाटै एक हप्ताको अल्टिमेटम दिदैं खड्काले भने, “पहिलो चरणमा ध्यानाकर्षण पत्र बुझाएका थियौं, त्यसको कुनै सुनुवाई भएन । अब पनि ७ दिनभित्र सडक मर्मत प्रक्रिया सुरु नभए सडक डिभिजन कार्यालयमा तालाबन्दी गर्न बाध्य हुनेछौं ।” उनले नागरिक पथलाई बताए ।

सार्वजनिक सरोकारका विषयहरुमा माओवादी केन्द्रले निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्दै खड्काले सडक जस्तो अति सम्वेदनशिल विषयमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबाटै खेलवाड भईरहेको भन्दै सचेत हुन सबैलाई सडकबाटै आह्वान समेत गरेका छन ।

स्मरण रहोस सडक मर्मतका लागि  खनेको खाल्डोमा मोटरसाईकल दुर्घटना हुँदा गत जेठ २१ गते कोहलपुर २ का ३३ वर्षिय सरोज मरासिनीले अकालमा ज्यान गुमाएका थिए । मर्मतका लागि खनेर छाडिएको सडकमा भे९प ८१५७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लैजाने क्रममा  मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *