नेपालगन्ज- ब्रिटिस इङ्लिस बोर्डिङ स्कुल, नेपालगन्ज–१९ मा संचालित ब्रिटिस ईको क्लबका सदस्य विद्यार्थीहरूलाई लक्षित गर्दै वातावरण र जलवायु परिवर्तनसम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
बुधबार भएको कार्यक्रममा स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक श्री रविन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वातावरणीय चेतना अभिवृद्धि, जलवायु परिवर्तनका असरहरू, र विद्यार्थीहरूले स्कूल तथा समाजमा गर्न सक्ने सकारात्मक कार्यहरूबारे विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रममा बोल्दै निर्देशक लामिछानेले वातावरणीय समस्या समाधानका लागि युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै ईको क्लबमार्फत हरित अभियान सञ्चालन गर्न प्रेरणा प्रदान गर्नुभयो। उहाँले प्लास्टिकको प्रयोग घटाउने, वृक्षारोपण गर्ने, सरसफाइ अभियान चलाउने जस्ता क्रियाकलापमार्फत समाजमा सकारात्मक प्रभाव पार्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफ्लेले स्वागत मन्तव्य दिँदै यस्तो खालका कार्यक्रमले विद्यार्थीहरूलाई वातावरणप्रति उत्तरदायी बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका करिब ५० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यशाला अन्तर्गत समूहगत छलफल, प्रश्नोत्तर, तथा सरसफाइसम्बन्धी योजनाहरू तयार पारेका थिए।
यस किसिमको वातावरणीय शिक्षाले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिई उनीहरूलाई समाज परिवर्तनका अगुवा बनाउने प्रधानाध्यापक काफ्लेले बताए ।


