खजुरा – प्रेस सेन्टर नेपाल खजुरा गाउँपालिका शाखाको सोमबार बाँकेको खजुरामा सम्पन्न दोस्रो अधिवेशनबाट दिपक कुवरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा प्रवीण नेपाली, सचिवमा मिना कुमारी खत्री, सहसचिवमा रोहन कुमाल, कोषाध्यक्षमा मन्जु बिक र सदस्यहरुमा क्रमशः भावना खड्का, जितलाल थारु, मिना शर्मा, गोविन्द नेपाली, हेलन बिक र विपना रोकाय निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटन शत्रमा बोल्दै नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले प्रेस सेन्टर नेपाल पत्रकारहरुको सङ्गठन मात्रै नभएर पार्टीको दरिलो खम्बाका रूपमा उभिनुपर्ने बताउनुभयो । उहाँले पार्टीको लाइनलाई अगाडी बढाउँदै आम श्रमजीवी जनताको आवाज प्रेस सेन्टरले बोल्नुपर्नेमा जोड दिनुभयो ।
माओवादी केन्द्र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार बिकले पत्रकारलाई समाजको ऐनाका रुपमा हेरिने गरिएको भन्दै गाउँ समाज भित्रका बेथितिलाई उजागर गर्नुपर्ने बताउनुभयो । बिकले पार्टीको लाइन अनुसार मिशन पत्रकारिताका साथै व्यावसायिक पत्रकारितामा प्रेस सेन्टर सम्बद्ध पत्रकार लाग्नुपर्ने बताउनुभयो ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज डा।डक्टप्रसाद धितालले अरु पत्रकारका सङ्गठन भन्दा प्रेस सेन्टर नेपालको अलग्गै इतिहास रहेको भन्दै इतिहासलाई भुल्न नहुने बताउनुभयो । उहाँले सेन्टरको गर्वीलो इतिहासलाई जोगाउँदै आम जनताका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहनुभएका प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सचिव गजेन्द्र गुरुङले सङ्गठनले हरेक पालिकामा पुगेर पत्रकारहरु उत्पादन गरिरहेको बताउनुभयो ।
हरेक समाजमा विकृति र विसङ्गती हुने गरेको भन्दै त्यसलाई चिर्दै समाजलाई सहि दिशामा अगाडी बढाउनका लागि प्रेस सेन्टर नेपाल केन्द्रीय नीति अनुसार हरेक पालिकामा पुगेको उल्लेख गर्नुभयो ।
प्रेस सेन्टर नेपाल खजुराका निवर्तमान अध्यक्ष हरी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरेले संचालन गर्नुभएको थियो ।