सन्तोष रावल :
त्रिभुवन विश्वविद्यालयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा करिब चौध बर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन सबै विद्यार्थी संगठनहरुको सहमतिमा वि.स. २०७९ चैत्र ५ गते सम्पन्न गर्ने निर्णय क्याम्पसले गर्यो । तर विभिन्न विद्यार्थी संगठनहरुको विवादका कारण वि.स.२०७९ चैत्र ८ गते अर्थात आजैको दिन सम्पन्न भएको थियो ।
त्यतिबेला भएको स्ववियु निर्वाचनमा, ने.बि.संघ र नागरिक उन्मुक्ति विद्यार्थी संगठनको एउटा गठबन्धन थियो भने अर्कोतिर करिब चौध ओटा विद्यार्थी संगठनहरुको गठबन्धन अर्को रहेको थियो। सोह्र ओटा विद्यार्थी संगठनहरु भएको क्याम्पसमा विद्यार्थी संगठनको निर्णय भन्दा पनि पार्टीको निर्णय अनुसार गठबन्धन तयार पारिएको थियो ।
स्ववियु निर्वाचनमा गठबन्धनका छुट्टाछुट्टै दुई टिम, चौध ओटा विद्यार्थीहरुको संगठन एउटा र अर्को दुइ ओटा विद्यार्थी संगठनकको प्रतिस्पर्धा भएको थियो । भने सभापति पदमा एकजना स्वतन्त्र उठेका थिए । उक्त चुनावमा जित चौध ओटा विद्यार्थी सङगठनको भयो । तर अहिले क्याम्पसको स्ववियुमा चौध प्लस दुई गरि जम्मा सोह्र ओटा विद्यार्थीहरुको संगठन छ ।
आज स्ववियु भएको एक बर्ष पूरा भयो। तर महेन्द्र बहुमुखी क्याम्पसको स्ववियुले भने आप्ना प्रतिबद्धताहरु भने पूरा गरेको देखिदैन । कम्तिमा सोह्र ओटा विद्यार्थी संगठनहरु मिलेर बनेको स्ववियुले क्याम्पसमा आज एक विद्यार्थी संगठनले एक काम गरे पनि आज क्याम्पसको मुहार फेरिन्थ्यो होला तर जस्ताको तस्तै छ । बिडम्बना, स्ववियु हुनु भन्दा पहिला क्याम्पसले छात्रवृत्तिको रिजल्ट समयमै निकाली समयमै विद्यार्थीहरुले छात्रवृत्ति पाउथे तर स्ववियु निर्वाचित भए पछि भने २०८० साल असोज महिनामा छात्रवृत्तिको फारम भरेका विद्यार्थीहरुले हाल सम्म पनि उक्त छात्रवृत्ति पाएका छैनन् ।
क्याम्पसमा छात्रवृत्तिको फारमम कहिले खुल्छ र कहिले रिजल्ट प्रकाशन हुन्छ ? विद्यार्थीहरुलाइ थाहै हुदैन । आज यो वा त्यो बहनामा स्ववियुको रकम खर्च हुदैगइरहेको छ । तर क्याम्पसको अबस्था भने उस्तै छ । क्याम्पसको पुस्तकालयमा स्नातक र स्नातकोत्तरको कुनै किताबहरु छैनन् । पुस्तकालयको नाममा स्ववियुले प्रति विद्यार्थी रु -एक हजार शुल्क लिएको छ तर पुस्तकालय भने खाली छ ।
स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसमा विद्यार्थीहरुको साझा सङगठन हो । यसले विद्यार्थी र क्याम्पस प्रशासनबीच समन्वयको काम गर्दछ र गर्नुपर्छ भन्ने हामीले बुझेका छौं । विद्यार्थीको समस्या र गुनासो क्याम्पस प्रशासन समक्ष राख्ने र त्यसलाई हल गर्ने प्रमुख दायित्व स्ववियुको हो । तर क्याम्पसको स्ववियु , स्ववियु होकि, पार्टी हो, बुझ्नै सकेका छैनौं ?क्याम्पस पनि उस्तै- गतिविधि उस्तै- अभाव उस्तै । क्याम्पसमा स्ववियु छ र ? भनेर प्रश्न गर्ने दिन आएका छन् ।
लेखक सोही क्याम्पसमा एम एड अंग्रेजी विषय लिएर अध्ययन गरिरहेका छन् ।