नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्जद्वारा सञ्चालित पूर्णलता मेमोरियल ट्रष्टद्वारा लतादेवी उपाध्यायको पुण्यतिथिको अवसरमा मंगलबार छात्रवृत्ति वितरण गरेको छ ।
सामुदायिक विद्यालयबाट २०८० सालमा सबै भन्दा उत्कृष्ट जिपिए लिएर उत्तीर्ण हुने दुईजना विद्यार्थीहरुलाई प्रत्येक वर्ष वितरण गर्दै आइरहेको छात्रवृत्तिलाई यसपालि पनि निरन्तरता दिएको क्लबका अध्यक्ष ला. मख्खन धामीले बताउनुभयो ।

नेपालगन्जमा रहनु हुने समाजसेवी तथा उद्योगी सतिश कुमार शर्माले आफ्नो पुजनिय बुबा पुर्णचन्द्र शर्मा र आमा लतादेवी उपाध्यायको नाममा खडा गरिएको ट्रष्टद्वारा जनही रु ५ हजार नगदका दरले दुईजना एकजना छात्र र एकजना छात्रालाई नगद पुरस्कार र प्रमाणपत्र दिने गरेको छ ।
यसपटक छात्रातर्फ सामुदायिक विद्यालय नेपालगन्जमा रहेको युद्ध संस्कृति माध्यमिक विद्यालयकी छात्रा नैना घिमिरे र मंगलप्रसाद माध्यमिक विद्यालयका छात्र आशुतोष लामिछानेले उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुदा सो पुरस्कार हाता पार्न सफल भएका हुन् ।
उक्त ट्रष्टमा अन्य लायन्स क्लबहरुले पनि हातेमालो गरेर पुरस्कार राशि बढाउन र ट्रष्टलाई मजबुत बनाउन अधिकांश वक्ताले जोड दिएका छन् । उक्त कार्यक्रममा कार्यक्रम सञ्चालक तथा रिजन चियर पर्सन ला. भिम सुवेदीले विजेता दुईजना विद्यार्थीहरुलाई नेपालका वैज्ञानिक महावीर पुन सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक समेत वितरण गर्नुभएको थियोे । उक्त पुस्तक उहाँले प्रत्येक साल जन्मदिनको अवसर पारेर वितरण गर्दै आइरहनु भएकोमा यसपटक पनि सोही अवसरमा दिएको बताउनुभयो ।
लायन्स क्लब अफ डेण्टल हस्पिटलको सभाहलमा भएको पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष ला. मख्खन धामीले गर्नुभएको थियोे भने प्रमुख अतिथिका रुपमा गभर्नर एमजेएफ ला. मुकुट ढकाल, अतिथिहरुमा फस्ट लेडी मिना ढकाल, पुर्णलता मेमोरियल ट्रष्टका संरक्षक सतिश शर्मा, सेकेन्ड भिडिजी ला. ज्ञानेन्द्र श्रेष्ठ, पुर्व गभर्नर ला. मधुसूदन शर्मा रिजाल, क्याविनेट ट्रेजर ला. तेज प्रसाद अधिकारी, अनेरवल एडभाइजर ला. श्रीधर शर्मा, एमजेएफ ला. कृष्ण प्रसाद श्रेष्ठ, एरिया चिफ ला. संजय थापा, लायन लिडरहरु ला. गोपाल अधिकारी, ला. श्याम कुमार शर्मा लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।



