नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १२० जना बढी कानुन अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० दोस्रो संस्करण नेपालगन्जमा सुरु भएको छ ।
नयाँ युवा नयाँ सोच नेपाल बाँके जिल्ला संयोजक छत्र सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, विशिष्ट अतिथिमा अधिवक्ता तिर्थ ज्ञवाली, अतिथिहरुमा अधिवक्ता जयराज जोशी, मानवता नेपाल बाँकेको उपाध्यक्ष सुमन गिरी श्रेष्ठ, पत्रकार केपी घिमिरे, कृष्ण दर्शन, अनिस शाह, लगायतको उपस्थिति रहेको हो ।

नयाँ युवा नयाँ सोच नेपालका केन्द्रिय कार्यक्रम संयोजक विनोद खत्रीले उक्त दुई दिने कार्यक्रममा प्रमुख प्रशिक्षणको भूमिका निर्वाह गर्नु हुनेछ । कार्यक्रममा सहभागीहरुलाई संसद एवं संसदीय अभ्यास बारे सोमबार प्रशिक्षण गराउने छन् भने भोलि २६ गते नमुना युवा संसद लुम्बिनी-२०७० सञ्चालन हुनेछ जसमा सहभागीहरुलाइ स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विषेश समय तथा विधेयक पेश गरि त्यस उपरको सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधित पेश हुँदै पारित सम्मको प्रक्रिया हुने बताइएको छ ।
वि.सं २०७४ सालमा स्थापित नयाँ युवा नयाँ सोच नेपालले आफ्नो ४ कार्यक्षेत्र मध्ये “शैक्षिक-बौद्धिक” कार्यक्षेत्र अन्तर्गत रहेर स्थापना कालदेखि नै नियमित रुपमा यस्ता कार्यक्रमहरु देशव्यापी रुपमा विद्यालय स्तरीय, नगर स्तरीय, जिल्ला स्तरीय एवं प्रदेश स्तरीय रुपमा आयोजना गरिरहेको संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष मुकुन्द दिप मडैले बताएका छन् ।
उद्घाटन सत्रको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले आजका विद्यार्थी भाइबहिनीहरु भोलिका कणधार भएको हुदा यस्ता किसिमका सिकाइले विद्यार्थीहरु थप परिपक्व बन्ने बताउनुभयो । त्यसैगरी अधिवक्ता ज्ञवालीले कानुनका विद्यार्थीहरुलाई बि.ए. एल एल बि पढ्न नेपालगन्जमा सुविधा नभएको हुदा सबैले आवाज उठाउनुपर्नेमा जोड दिनु भएको हो ।
संस्थाका बाँके जिल्ला सदस्य बिबेक शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा आजको प्रशिक्षण तथा भोलि हुने कार्यक्रममा बहसकर्ता, उत्कृष्ट अनुसन्धानकर्ता एवं उत्कृष्ट नेतृत्वकर्ता गरी ३ विधामा उत्कृष्ट सहभागीहरु मध्ये केहीलाई पुरस्कृत र सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


