काठमाडाैँ । चालु आर्थिक वर्षको ४ महिनामा जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेखको संख्या घटेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ बिमा कम्पनीहरुको कात्तिकसम्म १.६३ प्रतिशत घटेर १ करोड ३७ लाख १४ हजार कुल बीमालेख सक्रिय रहेका छन् ।

गत वर्षको सोही अवधिमा १ करोड ३९ लाख ४२ हजार बीमालेख सक्रिय थिए । गत वर्षको तुलनामा यस वर्ष २ लाख २७ हजार ७६२ वटा सक्रिय बीमालेख संख्या घटेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
समग्र जीवन बीमा क्षेत्रमा बीमालेख संख्या घटेको भएपनि ९ वटा कम्पनीको भने बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै आइएमई लाइफको १६६ प्रतिशत बढेर ३ लाख ८२ हजार बीमालेख सक्रिय छन् ।
पछिल्लो चार महिनाको अवधिमा विभिन्न ५ कम्पनीको सक्रिय बीमालेख संख्या घटेको छ।
सानीमा रिलायन्स लाइफको १५ प्रतिशत घटेर ९ लाख ३७ हजार, प्रभु महालक्ष्मीको १५.३२ प्रतिशत घटेर १ लाख ६९ हजार, रिलायबल नेपालको १७ प्रतिशत घटेर ३२ लाख ५३ हजार, मेट लाइफको १८.७५ प्रतिशत घटेर ८ लाख ३ हजार र सिटिजन लाइफको १८.७६ प्रतिशत घटेर १२ लाख ५४ हजार बीमालेख सक्रिय रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
