नेपालगन्ज – विस्तारै पुरानै लयमा फर्किदै गएको नेपालगन्जको सुरक्षा अवस्थामा क्रमिक सुधार आएको देखिएको छ । मंगलबारदेखि नेपालगन्जमा लगाइएको कर्फ्युको समयमा बिहिवारदेखि खुकुलो पार्ने निर्णय सुरक्षा परिषद्ले गरेको छ ।
नेपालगन्जमा लगाइएको कर्फ्यु बिहिवार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म हटाइएको छ भने रातको समयमा यथावत् राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रजिअ आचार्यका अनुसार बिहिवार साँझ ८ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म भने कर्फ्यु यथावत रहनेछ ।
दिउँसोको समयमा कर्फ्यु हटाइएपनि नेपालगन्जको पूर्वमा राप्ती नदी, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सिमा नाका क्षेत्रभित्र कुनै भेला, सम्मेलन, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टाँस्न वा लेख्न पाइने छैन । उक्त क्षेत्रभित्र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरि निषेधाज्ञा लगाइएको प्रजिअ आचार्यले जानकारी दिए ।

