नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले आज विश्व प्रेस स्वतन्त्रताको दिन अन्तरक्रिया कार्यक्रम गरेको छ ।
महासंघको आफ्नै सभाहलमा गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार झलक गैरे, शंकर खनालले विगतका दिनमा आफुले भोगेका कष्टकर क्षणको अनुभव सुनाउदै अहिले च्याउ जस्तै उम्रिएका अनलाइन मिडिया र युट्युबले गर्दा कहीं कतै आफै बाट पनि प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति खतरामा परेको बताएका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल लगायतका पत्रकारका नेताहरुको उपस्थिति रहेको थियोे ।
महासंघका बाँके शाखा सचिव कमल डाँगीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष संगिन शर्माले राखेका थिए भने पत्रकार आरिफ अन्सारी, अर्जुन वली, गोविन्द आचार्य, नवीन गिरी, केपी घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अझै पनि पत्रकारहरुले निर्धक्क भएर समाचार प्रकाशन गर्न नसकिरहेको अवस्था रहेको छ, समाचार प्रकाशन गरेकै भरमा ज्यान जोखिममा राख्नुपर्ने बताउदै महासंघका बाँके अध्यक्ष दामोदर भण्डारीले पछिल्लो समयमा पत्रकारहरुलाई प्रहरी प्रशासनबाट फसाउने जस्ता कार्य भएको हुदा कार चलाउदा सिसा लगाएर चलाउने, मोटरसाइकल चलाउदा डिक्की लक गरेर चलाउने जस्ता काम गर्न सुझाव दिएका थिए ।
