विभिन्न निर्णय गर्दै माओवादी केन्द्र बाँकेको सचिवालय बैठक सम्पन्न

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । आइतवार खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम चोक बजारमा सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले जानकारी दिए ।

बाँके जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे जेम्सको अध्यक्षता र बाँके जिल्ला इन्चार्ज एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको सचिव बरालले जानकारी दिए ।

बरालका अनुसार बैठकले जिल्लाका ८ वटै पालिकामा नमूनायोग्य श्रमशिविर र श्रमदान कार्यक्रमको आयोजना गर्ने, सम्पूर्ण जनवर्गीय संगठन एवं मोर्चाहरुको वडादेखि पालिकासम्मका भेला तथा सम्मेलन असोज महिनाभित्र सम्पन्न गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको असोज १४ गते प्रशिक्षण कार्यक्रम गर्ने, जनताको सहभागितामा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पार्टीले विषेश पहल गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकमा सहभागि ८ वटै पालिकाका अध्यक्ष तथा इन्चार्जले अभियानका बारेमा रिपोटिङ गरेको सचिव बरालले जानकारी दिए उनका अनुसार बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य एवं नरैनापुर गाउँपालिका इन्चार्ज प्रकाश सुवेदी (चन्द्रकान्ता) लाई विषेश सम्मान गरिएको सचिव बरालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *