लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले नरैनापुरका आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । नरैनापुर वडा नम्बर ३, ४ र ६ मा रहेका आगलागी पीडितलाई भेटेर सांसद नमुनाले प्रदेश सरकारबाट पीडितहरुलाई राहत उपलब्ध गराइने बताउनुभएको हो ।
‘आगलागीको घटनाले मलाई दुःखी बनाएको छ । तपाईको यो पीडामा केही भएपनि मल्हम लगाउन म पहल गर्छु’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले नियमअनुसार दिने राहतको लागि पहल गर्छु । आवश्यक प्रक्रिया पु¥याएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुहोला ।’
लुम्बिनी प्रदेश सरकारबाट एक घर परिवार ४० हजार रुपैयाँका दरले राहतवाफत रकम उपलब्ध गराइने सोही क्षेत्रबाट निर्वाचित सांसद नमुनाले बताउनुभयो ।
प्रहरी मुचुल्का, वडाको सिफारिस लगायतका प्रक्रिया पूरा गर्नको लागि उहाँले आफ्ना स्वकीय सचिव सूर्यप्रकाश घर्तीलाई समन्वयको भूमिका खेल्न निर्देशन समेत दिनुभएको छ ।
‘मेरो स्वकीय सचिव ज्यूले तपाईलाई राहतको लागि गर्नुपर्ने प्रक्रियामा समन्वयको भूमिका समेत खेलिदिनुहुन्छ’ पूर्वमन्त्री समेत रहनुभएकी उहाँले भन्नुभयो, ‘सूर्य जीसँग सम्पर्क गरेर प्रक्रिया पु¥याएर निवेदन दिनुहोला । म तपाईहरुले साथमा छु चिन्ता नलिनुहोला ।’
उहाँले आगलागी पीडितको मागअनुसार स्थानीय प्रहरीलाई भएको क्षतीअनुसार मुचुल्का बनाइदिन निर्देशन समेत दिनुभएको थियो ।
‘आगलागीबाट घरमा भएको क्षतीको पूरै मुचुल्का बनाइदिनुहोला । पीडितले पीडा होइन, सहज रुपमा राहत पाउनुपर्छ । यसमा तपाईको सहयोग हुनुपर्छ’ सांसद नमुनाले प्रहरीलाई निर्देशन दिदैं भन्नुभयो, ‘यहाँबाट तपाईहरुले भएको क्षतीको मुचुल्का बनाएर पठाउनुहोला ।’
आगलागी पीडितहरुले मुचुल्का, सिफारिस लगायतका विषयमा समस्या भइरहेको गूनासो गरेका थिए । सोही कुरालाई मध्यनजर गरेर उहाँले पीडितलाई पीडा होइन राहत दिनुपर्ने बताउनुभयो । राहतको लागि गर्नुपर्ने प्रक्रियामा जहाँ समस्या आउँछ त्यहाँ आफु रहेको भन्दै उहाँले समस्या समाधानको लागि आफु तत्पर रहेको प्रतिबद्धता जनाउनुभयो ।
