नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का जन प्रतिनिधिहरुले एकसय दिने कामको उपलब्धी सार्वजनिक गरेका छन् ।
सोमबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष गोपाल पुनले एक सय दिनको अवधिमा १६ वटा महत्त्वपूर्ण काम भएको सार्वजनिक गर्नुभयो । सामुदायिक विद्यालय कन्या मा-वि र अनाथालय गौशिया माविमा विद्यार्थी संख्ख्या बढाउन तथा उनीहरुलाई टिकाउन गरेको सहयोग, स्वास्थ्यतर्फ, सरसफाई तथा विविधतर्फ विभिन्न काम गरेको वडाध्यक्ष पुनले बताउनुभयो ।

उहाँका अनुसार वडाले बृक्षारोपण र सरसफाईलाई प्राथमिकता दिएको जनाएको छ । कन्या माविलाई प्राविधिक धारको विद्यालय बनाउने, स्वास्थ्य प्रवद्र्धन केन्द्रमा विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा सुरु गर्ने तयारी रहेको बताउनुभयो ।
उहाँले वडाले ब्यावसायिकताका लागि गारमेन्ट उद्योग खोल्ने र लागु औषधमा फसेका युवालाई पनि स्वरोजगार बनाउन कार्यक्रम संचालन गर्ने योजना बनाएको बताउनुभयो । नियमित विकास निर्माणका काम भईरहेको र हुने उहाँको भनाई छ ।
वडा अध्यक्ष पुनका अनुसार आफुले देशकै नमूना वडा बनाउन हरसम्भव प्रयास गरिरहेको र स्थानीय वडा वासीको भरपूर सहयोग र आमजनसमुदायको सहयोगको अपेक्षा गरेको समेत बताउनुभयो ।
