पानी पर्यो भने धान बिगार्ने चिन्ताले किसानलाई धान काट्न भ्याइनभ्याई

कृषि स्थानीय तह


बाँके : दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ । यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन् । खेतमा लटरम्म धान पाकेका कारण वर्षा र पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न चटारो सुरु भएको छ । विभिन्न  ठाउँहरुमा किसानहरु अहिले धान काट्ने चटारोमा व्यस्त भएका हुन् ।
यो वर्ष समयमै बर्सात भएका कारण जिल्लामा प्रायः सबै ठाउँमा समयमै धान रोपाइँ सम्पन्न भएको थियो ।जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । किसानहरु समयमै धान काट्न सजिलो होस् भन्दै अहिले खेतमै खाना खाने तथा दिनभरि धान काट्ने गरेका खजुरा गाउँपालिका का स्थानीयवासी शरद पोखरेलले  बताए । उनले भने, “समयमै धान पाकेको छ, पानी पर्ला र धान बिग्रेला भन्ने डरले हामी खेतमै खाना खाने र दिनभरि धान काट्ने गरेका छौँ ।”

दसैँ मनाउनका लागि घरमा आएकाहरु पनि खेतमा धान काट्न सहयोग गर्न थालेपछि यहाँका किसानलाई धान काट्न निकै सहज भएको स्थानीयवासी बताउँछन् । अहिले वृद्धवृद्धादेखि युवा समूह धान काट्नमा निकै सक्रिय भएका कोहलपुर  नगरपालिका–२ का स्थानीयवासी बिष्णु पन्थीले  बताए । उनले भने, “कामका लागि जिल्लाबाहिर गएकाहरु सबै घरमा आएका छन्, उनीहरु धान काट्नमा सहयोग गर्न थालेपछि रमाइलो भएको छ ।” यहाँका प्रायः सबै क्षेत्रमा धान काट्ने चटारोमा युवायुवती बढी सक्रिय भएका देख्न सकिन्छ । विगतमा यहाँ धान काट्ने खेताला नपाउने गरेका कारण समस्या हुने गरेको भए पनि अहिले युवायुवती धान काट्नमा सक्रिय भएका कारण निकै सहज भएको बताइएको छ । 

युवायुवतीले धान काट्ने काम गर्ने तथा अन्य किसान धान झार्ने काम गर्ने गरेको डुडुवा  गाउँपालिका– का स्थानीयवासी मुनीर खानले जानकारी दिनुभयो । उहाँका अनुसार सडक सुविधा पुगेका यहाँका कतिपय गाउँमा भने धान झार्न यो वर्षदेखि आधुनिक थ्रेसर प्रयोग गर्न थालिएको छ । दसैंको रमझम सकेर यहाँका किसान अहिले खेतबारीमा धान काट्न तथा धान झार्न सक्रिय भएपछि अहिले सहर बजारभन्दा पनि गाउँघरहरु निकै रमाइला भएको डुडुवाका  स्थानीयवासी सक्टु कोरीले बताए । उनले भने, “गाउँमा भएकाहरु सबै खेतबारीमा धान काट्न भेटिन्छन्, घरमा सुनसान हुन्छ, खेतबारीमा भने निकै रमाइलो हुने गरेको छ ।” छिटो रोपाइँ गरेको र छिटो पाक्ने धान लगाएका हुदा  धान काट्ने काम भइरहेको किसानले  बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *