नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता नखुवाएको भन्दै आन्दोलित भएको आज सातौं दिनका दिन व्यवस्थापन पक्षबाट लिखित सहमति जनाएर सम्बोधन भएपछि लगायतका ताला खुलेका छन् ।
आज व्यवस्थापन पक्षको तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का उप निर्देशक श्याम कुमार शर्मा र आन्दोलित कर्मचारीहरुका तर्फबाट मुनिर खान, अशोक कुमार दिक्षीत र विजय कुमार त्रिपाठीले उक्त लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

बैशाख महिनाको तलव साउन १० गते भित्र, जेष्ठ महिनाको तलव साउन २० गते भित्र र असार महिनाको तलव भदौ ७ गते भित्रमा खुवाउने, फरक तलव , बीमा, सामाजिक सुरक्षा कोष बापतको रकम साउन मसान्तसम्म दिने, उपदान वापतको रकम असोज महिनासम्म प्रत्येक कर्मचारीको व्यक्तिगत खातामा राखिदिने सहमति भएको छ ।
त्यसैगरी तेस्रो पक्षका हटाइएका कर्मचारीहरुका बारेमा भोलि बसेर छलफलका माध्यमबाट टुंगोमा पुग्ने भएको मुनिर खानले बताए । स्मरण रहोस् उक्त संस्थामा रहेका तिनवटा युनियनहरुले असार ९ गते व्यवस्थापन पक्षसँग मुख्य ७ बुदे मागपत्रका ५१ बुदे सहायक मागहरु राखेर आज दोस्रोपटक वार्ता भएको छ । उक्त वार्ता सकारात्मक रुपमा अगाडि बढेको वार्तामा सहभागी युनियनका नेताहरूको भनाइ रहेको छ ।
