मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ आउने सोमबारसम्म बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज (शुक्रबार) प्री अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा सकेसम्म आइतबार नै तर त्यो सम्भव नभएमा सोमबार बाँडफाँट गर्ने तयारी गरिएको एनएमबि क्यापिटलले जानकारी गराएकोे छ । तर अहिलेको तयारी अनुसार सोमबार नै बाँडफाँट गरिनेछ ।
यो आइपीओमा २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ७३.१० गुणा बढी आवेदन परेको हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्ने यसअघि बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

मनकामना स्मार्टले असार १७ गतेदेखि १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । इक्राले गत फागुन ११ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी फागुन ११ गतेसम्म बाहल रहनेछ ।
