बाँके जिल्लामा प्रत्येक ७/७ दिन गरेर लकडाउन समयअवधि लम्बाइएको छ । चारैतिर सबै खुल्ला छन् किराना पसल, तरकारी पसल, सपिङ्ग महल पनि खुल्ला छन् प्रहरी आएको देखेपछि सटर लगाउने र प्रहरी गएपछि खोल्ने गरेको देखिन्छ ।
नयाँनयाँ घरहरु निर्माणका काम चलिरहेकै छ, बाटो निर्माणका काम भइनै रहेको छ, भाटभटेनी सुपर मार्केट खुलेको छ, सानातिना किराना पसल, गल्ली गल्लीमा होटलहरु, तरकारी पसलमा भिड लागेकै हुन्छ यसले के बुझिन्छ भने यो लकडाउन गर्नुको कुनै अर्थ देखिदैन ।

अस्पतालमा बिरामी भर्ना छन् भनेर ढाटेर मोटरसाइकल, रिक्सामा मान्छेहरु हिडेका छन् , खाद्यान्न किन्न भनेर हिडेका छन् , भारतबाट आवतजावतमा कुनै रोकतोक छैन अनि किन लकडाउन गरेको बुझ्न सकिएको छैन ।
हिजो तरकारी पसल गरेको पसलेलाई मैले किन माक्स नलगाई तरकारी बेचेको भनेर प्रश्न गर्दा उल्टै मलाई अहिलेसम्म कुनै तरकारी पसले कोरोनाका कारण मरेको सुन्नु भएको छ भनि प्रतिप्रश्न गरेका थिए, उनले आफुहरुले खाली प्रहरीलाई देखाउन मात्र माक्स लगाएको बताए । अघिपछि माक्सलाई गोजीमा राख्ने र प्रहरीलाई देखेपछि लगाउने गरेको प्रशस्तै उदाहरण छन् ।
खाद्यान्न देखि तरकारी सबैको भाउ बन्दको बहानामा महंगोमा बिक्रीवितरण गरेको पाइन्छ, वाणिज्य लगायतको टीमले एकदुई पसलेलाई जरिवाना तिराएर बहादुरी गरेको प्रचारबाजी गरेको पाइन्छ । खाना खाने तेलमा उल्लेख्य मुल्य बढाएका छन्, खाद्यान्न त्यस्तै, तरकारीको मुल्य पनि बढेको छ किन बढाएको भन्दा उहीबाट बढेर आएको भन्छन् जसका पसलमा पुराना सामानहरु प्रशस्त रहेको थियोे उनीहरुलाई अहिले मालामाल भएको छ यसका लागि को बोल्ने अत्तोपत्तो छैन ।
जिल्ला प्रशासन कार्यालयले दिउँसो १२ बजेसम्म खुलाउने अनि लकडाउन रे अनि १२ बजेसम्म कोरोना सर्दैन र ? धेरैले पोहोर सालको जस्तो लकडाउन अहिले भएन भन्ने गरेका छन् । कोरोनाको प्रकृति हेर्दा अहिलेको भेरियन्ट झनै खतरा भएको विज्ञहरू बताउँछन् । त्यसैले म त भन्छु सिडियो साहब कि त लकडाउनलाई लकडाउन जस्तो बनाउनुस् नत्र नाम मात्रको लकडाउन आवश्यक रहेको छैन । सुरक्षाका मापदण्ड अपनाएर लकडाउन खोल्नुपर्छ । बरु धेरै प्रहरी खटाएर माक्स नलगाउने, स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना गर्ने, कानुनी कारबाही गर्ने वातावरण सिर्जना गरौं ।

