नेपालगन्ज-बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि कृष्णा केसी (नमुना) चुनावी मैदानमा उत्रिएकी छन्। “हाम्रो माटो, हाम्रो पसिना र हाम्रो नेतृत्व” भन्ने मूल नारासहित उनी जनतामाझ पुगिरहेकी छिन्। उनी दुईपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् भने यसपटक प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेर इतिहास रच्ने दाउमा रहेको बताइन् ।
कृष्णा केसीले आफ्नो चुनावी प्रतिबद्धतामा कोहलपुरलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तथा खेलकुद पूर्वाधारसहित ‘स्पोर्ट्स सिटी’ को रूपमा विकास गर्ने योजना अघि सारेकी छन्। यसले युवालाई खेलकुदमा आकर्षित गर्दै रोजगारी र आर्थिक गतिविधि बढाउने विश्वास उनले व्यक्त गरेकी छन्।
त्यसैगरी राप्ती सोनारी क्षेत्रलाई वन, कृषि र पर्यटनको समन्वयबाट आर्थिक मेरुदण्ड बनाउने योजना उनको प्राथमिकतामा रहेको छ। स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उनको भनाइ छ।

उनले नरैनापुरलाई पछाडि परेको होइन, अब अघि बढेको नरैनापुरको रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाएकी छन्। विभेदको अन्त्य, समावेशी विकास र आधारभूत सेवाको पहुँच विस्तार नै आफ्नो लक्ष्य रहेको उनले बताइन्। उनी प्रदेशमा निर्वाचित भएपछि मन्त्री बनेर विद्युत र बाटोघाटो निर्माण गरेको स्थानीय बासिन्दाले बताए ।
अनुभव, इमान्दारिता र विकासमुखी सोचका कारण आफूलाई जनताले विश्वास गर्ने उनको दाबी छ। कृष्णा केसीले मतदानको दिन आँखा चिह्नमा मतदान गरी परिवर्तनको यात्रामा साथ दिन मतदातासँग आग्रह गरेकी छन्। यसभन्दा अघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव जित हासिल गरेकी केसी यसपटक भने प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उठेकी छिन् । बाँके क्षेत्र नं १ का मतदाताशीत आफ्नो विगतको काम गरे नगरेको मुल्यांकन गरेर जिताउन हुन आग्रह गरेकी छिन् ।
