नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा युवा नेता खान निर्वाचित

लुम्बिनी प्रदेश बिशेष


दाङ : नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीको प्रथम लुम्बिनी प्रदेश अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्णय गर्दै अब्दुल हुसेन खानलाई लुम्बिनी प्रदेशको अध्यक्ष चयन गरेको छ। त्यसैगरी रामप्रसाद चौधरी र कमल भण्डारी उपाध्यक्ष, नारायण शर्मा सचिव, तथा सुदन खनाल, माया बि.क. र दुर्गा प्रसाद अधिकारी उपसचिवमा चयन हुनुभएको छ।

उक्त  अधिवेशनबाट १ सय ३५ सदस्यीय लुम्बिनी प्रदेश कमिटीको पूर्ण गठन गरिएको हो। अध्यक्षमा चयन भएका अब्दुल हुसेन खान नेकपा (एकीकृत समाजवादी) को पोलिट ब्युरो सदस्यका साथै    बाँके जिल्लाका इञ्चार्ज समेत रहनुभएको छ। उहाँको नेतृत्वमा पार्टीले संगठन विस्तार, नीति सुधार, र आगामी निर्वाचनलाई लक्षित गर्दै सशक्त कार्ययोजना अघि बढाउने संकेत दिएको छ।

अध्यक्ष खानले अधिवेशनपछि सम्बोधनमा भन्नुभयो, “लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) लाई पहिलो शक्ति बनाउने हाम्रो लक्ष्य हो। अब हरेक जिल्ला र स्थानीय तहमा संगठन बलियो बनाइनेछ।” उहाँले आफ्नो राजनीतिलाई विद्यार्थी आन्दोलनबाट शुरु गरेको  स्मरण गर्दै अहिलेको भूमिकालाई चुनौती र अवसर दुबैको संगम बताउनुभयो।

उहाँको नेतृत्व चयनसँगै लुम्बिनी प्रदेशभरि विशेष गरी युवा कार्यकर्ताहरूमा उत्साह र आशा देखिएको छ। राजनीतिक संगठित अभियानका साथै सामाजिक मुद्दामा पनि सक्रिय रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया बाहेक सबै जिल्लामा पार्टी अधिवेशनहरू सम्पन्न भइसकेका छन्। बाँकी रहेको बर्दिया जिल्लामा भने आगामी जेठ २४ गते जिल्ला अधिवेशनको मिति तय भइसकेको छ। नवगठित प्रदेश कमिटी र नवनिर्वाचित पदाधिकारीहरूलाई पार्टीका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन्। वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव मेटमणी चौधरी, सचिव सोम पाण्डे लगायत नेताहरूले अध्यक्ष खान र अन्य पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा पार्टीलाई लुम्बिनी प्रदेशमा प्रमुख शक्तिको रूपमा उभ्याउने विश्वास व्यक्त गरेका छन्।

नवनिर्वाचित प्रदेश कमिटीलाई घोराही सभाहल दाङमा आईतवार सफतग्रहण सम्पन्न भएको छ।
यो अधिवेशनले नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशमा संस्थागत संरचना मजबुत बनाउने, युवा र महिला सहभागिता अभिवृद्धि गर्ने, साथै आगामी निर्वाचनको तयारी गर्ने स्पष्ट खाका प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *