नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा विद्यार्थीहरुको नियमित पठनपाठन नभएको भन्दै स्ववियुको नेतृत्वमा रिले अनसन सुरु भएको छ ।
आइतबारदेखि उक्त क्याम्पसको क्याम्पस प्रमुख कक्ष बाहिर स्ववियुका पदाधिकारी तथा सदस्यहरु, विद्यार्थीहरुले रिले अनसन सुरु गरेको स्ववियु सभापति केशरजंग शाहीले नागरिक पथलाई बताए ।

केही दिन देखि त्यहाँ कार्यरत आंशिक प्राध्यापकहरुले आफ्ना मागहरु राखेर पठनपाठन ठप्प पारेका छन् भने उनीहरुले क्याम्पसमा लगाएको ताला स्ववियुले तोडेको थियो । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइदैन, नियमित पठनपाठन गर लगायतका प्लेकार्ड बोकेर रिले अनसन सुरु गरिएको स्ववियु सचिव चिरञ्जीवी बुढाले बताए ।
विद्यार्थीहरुका हकहितका सवालमा स्ववियुले लड्नका लागि कुनै कसुर बाकी नराख्ने स्ववियु कोषाध्यक्ष सुरेन्द्र रावतले बताए । हामी विद्यार्थीका हकहितका लागि चुनाव जितेर आएका हौं उनीहरुको पढाइमा अबरुद्ध हुदा चुप लागेर बस्ने कुरै भएन उनले भने ।
क्याम्पस प्रमुख डा. लालमणि आचार्यलाई बुझ्दा आंशिक प्राध्यापकका मागहरू क्याम्पस प्रशासनले पूरा गर्न नसक्ने भएको हुदा माथि केन्द्रमा पठाएको बताउदै हामी पनि विद्यार्थीहरुको नियमित पठनपाठन होस् भन्ने चाहेको हुदा वार्ता र संवादबाट समस्या समाधान गर्न आफु लागि परेको बताए ।