नाजिया बनिन् एक दिनका लागि गुलरिया नगरपालिकाकी उपमेयर


बर्दियाको गुलरिया नगरपालिकामा रहेको प्रगति किशोरी क्लबकी सदस्य नाजिया खानले एक दिनका लागि उपमेयर सावित्रा गौतमको पदभार ग्रहण गरेपछि आफुमा समाजका लागि केही गर्ने आत्मविश्वास बृद्धि भएको बताउनुभयो । उहाँले यो कार्यक्रमले किशोरीहरुको क्षमता विकासमा पनि ठुलो योगदान गरेको बताउनुभयो । 

प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको शसक्त बालिका परियोजनाको गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत नाजिया खान गुलरिया नगरपालिकाको एक दिनको उपमेयर बन्नु भएको हो ।
सो कार्यक्रमको उदेश्य किशोरीहरूलाई उनीहरूको रोल मोडेल बन्न सक्ने क्षमतालाई महसुस गर्न र भविष्यमा नेतृत्वदायी भूमिका खेल्न थप प्रोत्साहित गरेर उनीहरूलाई सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

सो अवसरमा बोल्दै गुलरियाका उपमेयर सावित्रा गौतमले गल्र्स टेकओभर कार्यक्रमले किशोरीहरुको क्षमता बढाउनुका साथै उनिहरुमा नेतृत्व गर्ने बिश्वास पनि बढाउने बताउनुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न किशोरी क्लबका सदस्यहरुले एकदिवसीय उपमेयरसंग नगरपालिकाका विभिन्न विभागसंग सम्बन्धित जिज्ञासा राखेका थिए । नाजियाले आफ्नो ज्ञान प्रयोग गरेर विभिन्न जिज्ञासाको जवाफ दिनु भयो जसले उहाँको आत्मविश्वासलाई उल्लेखनीय रूपमा बढाएको थियो ।

गल्र्स टेकओभर कार्यक्रमको प्रमुख उपलब्धि उपमेयरको भूमिकामा रहनु भएकी किशोरीको मनोवैज्ञानिक सशक्तिकरण हुनु रहेको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
उहाँले यो अनुभवले किशोरीको जिम्मेवारी लिन सक्ने क्षमतालाई बढाउनुका साथै रोल मोडेल बन्न र समाजमा योगदान गर्न प्रयास गर्न प्रोत्साहित गरेको बताउनुभयो । यसले उहाँलाई प्रभावकारी रूपमा समस्याहरू समाधान गर्ने क्षमताको विकास गर्न मद्दत गरेको र नेतृत्व र राजनीतिको बारेमा जानकारी समेत गराएको बाँके युनेस्को क्लबले जनाएको छ ।

यो कार्यक्रमले किशोरी क्लबका सदस्यहरूलाई बिना कुनै हिचकिचाहट स्थानीय सरकारका प्रतिनिधिहरूलाई सीधै आफ्ना समस्याहरू सुनाउने अवसर पनि प्रदान गरेको थियो ।
कार्यक्रममा पालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, शिक्षा, स्वास्थ्य र महिला तथा बालिका शाखाका प्रमुखहरु, विभिन्न किशोरी क्लबका सदस्यहरु लगायत क्लबका सुपरभाइजर नग्मा मनिहार र मुल्यांकन अधिकृत अनु चौधरीको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *