नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १२० जना बढी युवाहरुको सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० दोस्रो संस्करण यहि मंसिर २५ र २६ गते नेपालगञ्जमा आयोजना हुने गरिने भएको छ ।
नयाँ युवा नयाँ सोच नेपाल संस्थाका बाँके जिल्ला संयोजक छत्र सुनारका अनुसार नयाँ युवा नयाँ सोच नेपालका केन्द्रिय कार्यक्रम संयोजक विनोद खत्रीको नेतृत्वमा काठमाडौबाट प्रशिक्षकहरु आई सहभागीहरुलाई संसद एवं संसदीय अभ्यास बारे २५ गते प्रशिक्षण गराउने छन् भने २६ गते नमुना युवा संसद लुम्बिनी-२०७० सञ्चालन हुनेछ जसमा सहभागीहरुलाइ स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विषेश समय तथा विधेयक पेश गरि त्यस उपरको सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधित पेश हुँदै पारित सम्मको प्रक्रिया हुनेछ ।

वि.सं २०७४ सालमा स्थापित नयाँ युवा नयाँ सोच नेपालले आफ्नो ४ कार्यक्षेत्र मध्ये “शैक्षिक-बौद्धिक” कार्यक्षेत्र अन्तर्गत रहेर स्थापना कालदेखि नै नियमित रुपमा यस्ता कार्यक्रमहरु देशव्यापी रुपमा विद्यालय स्तरीय, नगर स्तरीय, जिल्ला स्तरीय एवं प्रदेश स्तरीय रुपमा आयोजना गरिरहेको अध्यक्ष मुकुन्द दिप मडैले बताएका छन् ।
उक्त प्रतियोगितामा उत्कृष्ट बहसकर्ता, उत्कृष्ट अनुसन्धानकर्ता एवं उत्कृष्ट नेतृत्वकर्ता गरी ३ विधामा उत्कृष्ट सहभागीहरु मध्ये केहीलाई पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ ।
