नेपालगन्ज- बाँके प्रहरीले आज (शुक्रबार) एक युवकलाई गोली हानेर पक्राउ गरेको छ । एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका कोहलपुर निवासी ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।
डाँगीले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार उनको खुट्टामा गोली लागेको छ । राना आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीले जनाएको छ । रानाविरुद्ध बालिकामाथि बलात्कार गरेको आरोपमा उजुरी परेको छ भने यसअघि उनी ब्राउन सुगर तस्करी मुद्दामा दोषी ठहर भई सजाय भोगिसकेका व्यक्ति हुन् ।

दुई दिनअघि रानाले बाँके चप्परगौडीका मीनबहादुर वि.क.माथि खुकुरी प्रहार गरी भागेको प्रहरीले जनाएको छ । हाल घाइते बि.क.को भारतको लखनउमा उनको उपचार भइरहेको छ । खुकुरी प्रहारपछि फरार रानाको खोजीमा खटिएको प्रहरी टोलीले बाँकेको जानकी गाउँपालिका ४ मा लुकेर बसेको देखेपश्चात् प्रहरीले पक्राउ गर्न खोज्दा उनले प्रहरीलाई समेत धक्का मुक्का गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनी भाग्ने कोशिस गरेपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको र घाइते रानाको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

