नेपालगन्ज : गुल्मी जिल्लामा जन्म लिएर विभिन्न प्रयोजनका सिलसिलामा स्थायी तथा अस्थायी रुपमा बाँके जिल्लामा आइ बसोबास गरेका गुल्मेलीहरुले शनिबार तीज मिलन तथा सम्मान कार्यक्रम भव्य रुपमा मनाएका छन्।
२०५६ सालमा गुल्मेली मिलन चौतारीबाट गठन भएको उक्त गुल्मेली समाज सेवा बाँके सामाजिक कार्यमा पनि अन्य जिल्ला भन्दा पृथक रहेको छ । गुल्मेली समाज सेवा बाँकेमा २ सय घरपरिवार रहेको संस्थाका अध्यक्ष हरिलाल न्यौपानेले बताउनुभयो ।

नेपालगन्जमा रहेको सिद्धार्थ कटेजमा भएको तीज मिलन कार्यक्रममा गुल्मेली समाजलाई चिनाउन सक्रिय भूमिका खेल्नुहुने तीन जनालाई र कक्षा १२ मा गुल्मेलीका सन्ताहरु मध्ये उत्कृष्ट अंक लिएर उत्तीर्ण हुने एकजना छात्र र एकजना छात्रालाई नगद रु ५ हजार १ सय रुपैयाँ नगद सहित सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा योग गुरु प्रशिक्षण गिरीराज भट्टराई, महा ईश्वरीय विश्वविद्यालय बाँके ॐ शान्ति संस्थाकी प्रमुख दुर्गा पौडेल र वरिष्ठ पत्रकार पुर्णलाल चुके रहनु भएको छ भने कक्षा १२ मा उत्कृष्ट जिपिए लिएर उत्तीर्ण भएर सम्मानित हुनेमा छात्रा तर्फ नेहा घिमिरे र छात्र तर्फ प्रमेश पन्त रहेका छन् ।
बाँकेको कोहलपुर, खजुरा, नेपालगन्ज लगायतको ठाउँमा छरिएर रहेका गुल्मेलीहरु कार्यक्रममा उपस्थिति रहेको थियो । गुल्मेली समाजका सचिव हिमनाथ पौडेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरिलाल न्यौपानेले गर्नुभएको थियोे । समाजका संस्थापक अध्यक्ष लक्ष्मण गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुरस्कार वितरणका संयोजक तथा समाजका उपाध्यक्ष भिम कंडेल, नेकपा एमाले बाँकेका अध्यक्ष तथा गुल्मेली सेवा समाजका सल्लाहकार किश्मत कुमार कक्षपति लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
